युद्ध अन्त्यका लागि रुसलाई दबाव दिन चिनियाँ राष्ट्रपतिसँग जर्मन चान्सलरको आग्रह



जर्मन चान्सलर ओलाफ शोल्टस्ले युक्रेनमा युद्ध रोक्न रुसमाथि आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई आग्रह गरेका छन् ।

चीन भ्रमणमा रहेका जर्मन चान्सलर ओलाफले दुवै देश रुसको पारमाणविक धम्की गैरजिम्मेवार र अत्यन्त खतरनाक भएकोमा सहमत भएको बताए । चिनियाँ राष्ट्रपतिले भ्लादिमिर पुटिनले गरेको आक्रमणको निन्दा गर्न अस्वीकार गरेका छन् ।


उनले भने, ‘चीन एउटा ठूलो देश हो। विश्व राजनीतिक मञ्चका एक हिस्सेदार र राष्ट्रसङ्घको सुरक्षा परिषद्को सदस्यको नाताले विश्वमा शान्तिका लागि उसको पनि जिम्मेदारी छ।’

यद्यपि चिनियाँ खबरहरूमा जनाइएअनुसार उनले विश्व समुदायले शान्तिपूर्ण रूपमा सङ्कटको अन्त्य गर्ने आवाजलाई समर्थन गर्नुपर्ने र परमाणुअस्त्रको प्रयोग वा धम्कीको विरोध गर्नुपर्ने बताएका छन् ।

चिनियाँ नेताले हालै सत्तामा आफ्नो पकडलाई थप बलियो पारेपछि भएको जर्मन नेताको यो यात्राप्रति जर्मनी र युरोपका कतिपय स्थानमा चिन्ता व्यक्त गरिएको छ । शोल्टस्को ११ घण्टे छोटो भ्रमण विवादास्पद देखिएको छ ।

कोभिडको विश्वव्यापी महामारीपछि बेइजिङको यात्रा गर्ने उनी पहिलो पश्चिमी नेता हुन् । त्यस्तै गत महिना चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय अधिवेशनबाट सत्तामा आफ्नो पकड बलियो बनाएपछि राष्ट्रपति सीलाई भेट्ने पनि उनी नै पहिलो विदेशी नेता भएका छन् ।