जनकपुरधाम । मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिएका मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका हुन् ।
मुख्यमन्त्रीसहित चार जना मन्त्रीमध्ये पुनः निर्वाचित भए । मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादव र उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधनप्रसाद महतो पराजित भएका छन् ।
सप्तरी क्षेत्र नम्बर २ (१) बाट चुनाव लड्नुभएका अर्थमन्त्री साह जनमत पार्टीका सतिशकुमार सिंहसँग पराजित भए भने सिरहाको क्षेत्र नम्बर २ (१) बाट चुनाव लडेका कृषिमन्त्री यादवलाई जनमत पार्टीकै सञ्जयकुमार यादवले पराजित गरेका छन् । यस्तै उद्योगमन्त्री महतोलाई नेकपा (एमाले)का हरिनारायण महतोले पराजित गरे।
मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित हुँदा मुख्यमन्त्री लालबाबु राउत पर्सा क्षेत्र नम्बर १ (२) बाट, कानून न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादव सिरहा क्षेत्र नम्बर ३ (२) बाट र गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह महोत्तरी क्षेत्र नम्बर १ (२) बाट पुनः निर्वाचित भएका छन् ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साह भने सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।