काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार आकर्षण पोख्रेलले स्वतन्त्र उम्मेदवारहरूका एजेन्डा र सक्रियताप्रति मतदाताहरू पनि आकर्षित भएको आफूले पाएको दाबी गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै आफू हाम्रो नेपाली पार्टी र लौरो चिह्न अभियानबाट उम्मेदवार रहेको स्पष्ट पारेका छन् ।
उनले आफू विजयी हुने दाबी गर्दै भने, ‘स्थानीय तहको निर्वाचनमा सुरु भएको परिवर्तन खोज्ने अभियानले नै आसन्न निर्वाचनमा पनि निरन्तरता पाउनेमा विश्वास छ ।’ उनले विगतमा वैकल्पिक दलहरू शक्ति आर्जनमा लाग्दा स्थापित हुन नसकेको बताए ।
‘पदमा पुगेपछि मात्र परिवर्तन हुन्छ भन्ने मान्यताबाट अघि बढ्दा समस्या भएको हो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘परिवर्तनका लागि पद चाहिन्छ भन्ने छैन । नेताहरूले नीति बनाउने र नीति कार्यान्वयन भए विकास हुने उनको भनाइ छ । फलानोले जित्यो भने विकास हुन्छ भन्ने मानसिकता हटाउनुपर्छ ।’
उनले आफू कुनै अमुक दलको उम्मेदवार भएको भनि गरिएको प्रचारको खण्डन गरेका छन् । वर्तमान निर्वाचन प्रणालीका कारण पनि सक्षम उम्मेदवार आउन कठिन भएको दाबी गर्दै चुनाव खर्चिलो भएको बताए । ‘हामी गलत अभ्यासमा गइरहेका छौँ, वर्तमान निर्वाचन प्रणालीमा सुधारको आवश्यकता छ,’ उनले भने ।
उनले आफू पैसा खर्च गरेर राजनीति गर्ने पक्षमा नरहेको स्पष्ट पारे । ‘मैले जानेको कुरा समाजलाई दिन्छु भनेर राजनीतिमा आएको हुँ, यदि मेरो सोच र विचार मिल्छ भने ठीक छ होइन भने म पैसा खर्च गरेर राजनीति गर्ने पक्षमा छैन ।’