भक्तपुर क्षेत्र नं १ मा राप्रपा, क्षेत्र नंं २ मा कांग्रेस अगाडि, मतगणना जारी



भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा १० हजार मतगणना हुँदा प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले)का उम्मेदवारलाई पछाडि पार्दै अग्रता कायमै राखेको हो ।

गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दूर्लभ थापाले एमालेका महेश बस्नेतलाई चार सय ३२ मतान्तरले अग्रता लिँदै चार हजार एक सय १३ मत पाएका छन् । एमाले तीन हजार छ सय ८१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले आठ सय ७०, राष्ट्रियता प्रजातन्त्र पार्टीले चार सय ५० र नेपाल मजदुर किसान पार्टीले चार सय ५० मत प्राप्त गरेको छ । मतगणना जारी छ ।


प्रदेशसभा र समानुपातिकको मतगणना पनि सुरु भएको छ । त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरुआती अग्रता लिएका छन् । चाँगुनारायण नगरपालिका वडा नं १ को मतगणनाका क्रममा उनले अग्रता लिनुभएको हो । यस क्षेत्रमा एक हजार तीन सय ११ मतगणना हुँदा खड्काले तीन सय ५९, एमालेका नवराज गेलालले तीन सय ५६, नेमकिपाका प्रेम सुवालले दुई सय ९२ र माओवादी केन्द्रका सुनिल गोठेले दुई सय दुई मत प्राप्त गरेका छन् ।