काठमाडौँ । नेकपा एमाले अध्यक्ष ओलीले बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नदी किनारामा छाप्रो बनाएर बसेका सुकुम्बासी माथि बल प्रयोग गरेर हटाउन खाेज्नु गलत भएको बताए ।
‘चुप लागेर खोलाको किरानामा बसेको जनतालाई ठीक लगाएर कुन बहादुरी पाइन्छ । कसलाई पराजित गरेर को विजयी हुने ? यहाँ जित र हारको प्रश्न होइन समस्या समाधानको प्रश्न हो,’ उनले भने, ‘लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन । तरिका फरक हो । उचित समाधान दिनु र कुनै पनि कुरालाई तर्कपूर्ण तरिकाले समाधानमा पुर्याउनु प्रमुख कुरा हो ।’
ओलीले सुकुम्बासीमाथि गरिएको व्यवहार लोकतान्त्रिक आचारणअनुसार नभएको बताए । उनले समस्या गर्न सुकुम्बासी आयोगलाई अघि ल्याउनु पर्ने बताए ।
‘सुकुम्बासी र राज्यको बीचमा हार-जित जस्तो कार्य भयो । सुकुम्बासी हाम्रो दाजुभाइ, दिदीबहिनी हुन् । अलि गरिब भए भन्दै उनीहरुलाई गोद्नु पर्ने, ठोक्नु पर्ने भन्ने कुरा होइन,’ उनले भने, ‘सरकारको उन्माद हो । सरकारको काम लोकतान्त्रिक आचरणअनुसार छैन ।’