काठमाडौँ । श्रीलंका क्रिकेट बोर्डले बलात्कारको आरोपमा पक्राउ परेका दनुष्का गुणथिलकालाई निलम्बन गरेको छ । बोर्डले उनलाई सबै प्रकारका क्रिकेटबाट सोमबारबाट निलम्बन गरेको हो । बोर्डले गुणथिलकाको विषयमा छानबिनसमेत गर्ने भएको छ ।
‘श्रीलंका क्रिकेट खेलाडीको यस्तो कुनै पनि आचरणको लागि शून्य सहनशीलता नीति अपनाउने कुरामा जोड दिन चाहन्छ र घटनाको निष्पक्ष छानबिन गर्न अस्ट्रेलियाली कानुन र प्रहरीलाई आवश्यक सबै सहयोग उपलब्ध गराउनेछ’, बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
टी–२० विश्वकपका लागि अस्ट्रेलिया पुगेका गुणथिलकालाई अस्ट्रेलिया प्रहरीले आइतबार बलात्कारको आरोपमा पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीविरुद्ध २९ वर्षीया महिलाले बलात्कारको उजुरी दिएकी थिइन् । एजेन्सी