तान्जानियाको प्रिसिजन एयरको एउटा विमान आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरियामा दुर्घटनाग्रस्त भएको छ ।
स्थानीय सञ्चारमाध्यमहरूले कम्तीमा २६ जना मानिसहरूको उद्धार गरिएको जनाएका छन् । विमानमा ४३ जना सवार रहेको एक जना स्थानीय अधिकारीले बीबीसीलाई बताएका छन् । आर्थिक राजधानी दर ए सलामबाट उक्त विमान उडेको थियो ।
सामाजिक सञ्जालमा राखिएका भिडियोमा उद्धार कार्यकर्ताहरूले मानिसहरूलाई डुङ्गामा चढ्न सघाइरहेको देख्न सकिन्छ । तर विमानको पछिल्लो भाग भने पानीको मुन्तिर देखिन्छ । उद्धार कार्य जारी रहँदा तान्जानियाका राष्ट्रपतिले शान्त रहन अपील गरेकी छन् ।
उद्धारकर्ताहरूलाई स्थानीय माझीहरूले पनि खोजीमा सघाइरहेका छन् । बुकोबा विमानस्थलको एउटा धावनमार्गको अन्तिम विन्दु अफ्रिकाको सबैभन्दा ठूलो ताल लेक भिक्टोरियाको तट नजिकै पर्छ ।
उक्त विमानले आँधी र ठूलो वर्षाको सामना गर्नुपरेको थियो । प्रिसिजन एयर तान्जानियाको प्रमुख निजी वायुसेवा हो।