गोरखामा प्रचण्डले गुन्डा पठाएर मान्छे कुट्न लगाए : ओली



चितवन । सोमबार चितवनमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दैै अध्यक्ष ओलीले एमालेसँग दुष्मनी गरेकाले माओवादी अध्यक्ष प्रचण्ड गोरखा जानु परेको बताए । अध्यक्ष ओलीले यसलाई भागेको संज्ञा दिए । उनले गोरखामा पनि प्रचण्डको हालत देखिएको बताए ।

उनले गुन्डा पठाएर आफ्ना पार्टीका कार्यकर्ता कुट्न लगाएको आरोप लगाए । उनले भने,‘सीता राम, लक्ष्मणहरूसँग दुस्मनी गर्ने पनि सकिन्छन् । एमालेसँग दुष्मनी गर्ने पनि सकिन्छन् । अहिले गोरखातिर लागेका छन् । त्यहाँ पनि हालत के रहेछ भनेर थाहा पाइसक्यौँ। मान्छे कुट्न थाले।’


अध्यक्ष ओलीले चितवन क्षेत्र नम्बर ३ मा दिनेश कोइरालालाई जिताउनुपर्ने बताए । कोइराला राजनीति बुझेको र लोकतान्त्रिक चरित्रको भएको नेता भएको बताए ।

उनले भने,‘कोइराला लोकतान्त्रिक चरित्रको मान्छे हो । राजनीति बुझेको मान्छे हो। नारायणीको तिरमा माछा चुनाव चिन्ह लिएर उठ्नुभएका कोइरालालाई जिताउन एमालेले सहयोग गरेको छ।’ ओलीले सत्ता गठबन्धनलाई म्याद गुज्रिएको औषधिको संज्ञा दिए ।

उनले भने,‘पटक–पटक सरकारमा हुँदा पनि नेपाली कांग्रेस र माओवादीले केही गर्न सकेनन् । यिनीहरू म्याद गुज्रिएका औषधि हुन्। कुनै काम गर्नेवाला छैन ।’