गोरखाका सडकहरु धुलाम्मे छन्, कालोपत्र गरेर मात्र छोडिन्छ : प्रचण्ड



गाेरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले आज एकै दिन गोरखाका पाँच ठाउँमा भएको कोणसभालाई सम्बोधन गरेका छन् ।

क्षेत्र नं २ का विभिन्न स्थानमा वाम–लोकतन्त्रिक गठबन्धनको आयोजनामा भएको संयुक्त चुनावी जनसभा तथा कोणसभालाई सम्बोधन गर्दै उनले अबको पाँच वर्षमा गोरखाका धुलो सडकलाई कालोपत्र गरेर छोड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । “गोरखा जिल्लाभित्रका सडकहरु धुलाम्मे छन्”, उनले भने, “अबको पाँच वर्षमा यी सडकलाई कालोपत्र गरेर मात्र छोडिन्छ ।”


अध्यक्ष दाहालले चितवन जिल्लामा पाँच वर्षमा धुलाम्मे सडकलाई पूरै कालोपत्र गरेको भन्दै अब गोरखाको पनि धुलाम्मे सडकलाई कालोपत्र गर्ने बताए ।

उनले बृहत् शान्ति सम्झौतामार्फत हस्ताक्षर गरेर आफूले कांग्रेसको रूख चिह्नमा भोट हालेको र तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा भोट हालिसकेकाले अब दुवै पार्टीका कार्यकर्ताले एकअर्काको चुनाव चिह्नमा भोट हाल्न हिच्किचाउन नपर्ने स्पष्ट पारे ।