गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता : पौडेल



काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता भएको बताएका छन् । लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं २ कार्यसमितिले आज यहाँ आयोजना कार्यक्रममा नेता पौडेलले देश र जनताप्रति समर्पित नेता सिंह भएको बताएका हुन् । 

‘गणेशमान सिंह पार्टीको सभापति र प्रधानमन्त्री भएनन् तर उनको राजनीतिक उचाइ पार्टी सभापति र प्रधानमन्त्री हुने व्यक्तिकोभन्दा बढी छ’, उनले भने। उनले गणेशमान सिंहको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन नसकेकामा गुनासो गरे ।


लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मुलुकको परिवर्तन र नागरिक अधिकारका लागि निष्ठापूर्वक लड्ने गणेशमान सिंहको योगदानबारे भावी पुस्तालाई बुझाउनुपर्ने बताए । नेता पौडेलले प्रधानमन्त्री पद प्राप्त गर्दासमेत प्रधानमन्त्री नबन्ने गणेशमान सिंहको बाटोमा नेपाली राजनीतिलाई लैजान सकेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।