कैलाली निर्वाचन क्षेत्र नं १ र ३ मा मतगणना सुरु



कैलाली । कैलाली जिल्लाको निर्वाचन क्षेत्र ३ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मध्याह्न १२ बजेपछि सुरु भएको छ । निर्वाचन क्षेत्र १ को मतगणना ११ः१५ बजेदेखि सुरु भएको छ । क्षेत्र नं ४ को मतगणना केही समयपछि सुरु हुन लागेको निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले जानकारी दिए । मतगणना सुरु भए पनि गणना भएको मतपरिणाम १२ः३० सम्म सार्वजनिक गरिएको छैन ।

सर्वदलीय बैठकमा वडा तहअनुसारको मतगणना गर्नुपर्ने नेपाली कांग्रेसको मागमा सहमति जुट्न नसक्दा निर्वाचन क्षेत्र नं ५ को मतगणना अझै सुरु हुन सकेको छैन । निर्वाचन क्षेत्र नं २ मा मध्याह्नसम्म पनि सर्वदलीय बैठक जारी छ । प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका १० निर्वाचन क्षेत्र रहेको कैलालीमा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेकामा झण्डै ६२ प्रतिशत मत खसेको जनाइएको छ । प्रतिनिधिसभामा ४८ र प्रदेशसभामा ७८ उम्मेदवार रहेका छन् ।