कर्णालीको विकासलाई प्राथमिकतामा राखिन्छ : प्रचण्ड



जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । यहाँको विकासबारे सत्ता गठबन्धनका बैठकहरुमा पनि छलफल हुने गरेको भनदै उनले आगामी दिनमा आफूले यहाँको विकासका बारेमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

जुम्लाको खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको भन्दै मार्सी चामललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक सहयोग गर्ने पनि बताए । उनले भने, ‘‘त्यो विषय मसँग पनि जोडियो । एक पटक मार्सी चामलको भात के खाएका थियौँ, निकै चर्चामा आयो । त्यसले बजारीकरणमा टेवा पुग्यो । यहाँको स्याउ, गेडागुडी, सिमी, स्याउको पनि उत्तिकै चर्चा छ । यसको उत्पादनमा वृद्धि गर्नाका साथै प्याकेजिङ र बजारीकरणमा विशेष जोड दिइने छ ।’’


यस्तै जुम्लाको सिञ्जा खस सभ्यताको उद्गमस्थल हो । यसको संरक्षण प्रवद्र्धनका लागि प्रतिष्ठान स्थापना गरी जगेर्ना गरिने अध्यक्ष प्रचण्डले बताए । उनले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन जुम्लाका नागरिकसँग आग्रह पनि गरे । उनले आफूहरु निरङ्कुशताका विरुद्ध १२ बुँदे सम्झौताहुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्रतिगमनविरुद्ध एकजुट भएर निर्वाचनमा होमिएको बताए ।

अध्यक्ष प्रचण्डले संविधानको रक्षा गर्न र विकासको अर्को चरणको सुरुआत गर्न नेपालमा निर्वाचनपछि वर्तमान गठबन्धनकै बहुमतको सरकार सञ्चालन हुने जानकारी दिए ।