कपिलवस्तु २ मा तीन पूर्वमन्त्रीको भिडन्त, पाँचौपटक सांसदको दौडमा वृजेश



कपिलवस्तु । तीन प्रतिनिधिसभा रहेको कपिलवस्तुमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सबैको चासोको केन्द्रमा छ । वि.सं २०५६ देखि लगातार चुनाव जित्दै आएका वृजेशकुमार गुप्ता लडेको यो निर्वाचन क्षेत्रलाई चासोपूर्वक हेरिएको हो ।  आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गुप्तालाई जिल्लामा सदाबहार सांसदका रुपमा हेर्छन् । जिल्ला सदरमुकामसमेत पर्ने यो निर्वाचन क्षेत्रमा गुप्ता नेकपा (एमाले) बाट चुनावी मैदानमा रहेका छन् ।

गुप्तासँग नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य भिड्दै छन् । विसं २०७४ को निर्वाचनमा दुवै जना चुनावी प्रतिस्पर्धामा रहेका थिए । गुप्ता २०५६ सालदेखि लगातार सङ्घीय सांसद रहँदै आएका छन् । उनीसँग २०५६ मा नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय पराजित भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव जितेका गुप्तालाई एमालेले अघोषितरुपमा सघाएको थियो ।


विसं २०५६ मा एमालेबाट अघोषितरुपमा साथ पाएका गुप्ता विभिन्न दल बदल्दै अन्ततः यो निर्वाचनमा एमालेबाट आधिकारिक उम्मेदवार बनेका हुन् । पूर्वमन्त्रीसमेत रहेका गुप्ता विसं २०६४ र २०७० मा तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालीन संविधानसभा निर्वाचन क्षेत्र नं ३ रहेको यो क्षेत्र हाल सङ्घीय संरचनाअनुसार क्षेत्र नं २ पर्दछ ।

विसं २०७४ मा वाम–गठबन्धनको साझा उम्मेदवार बनेका उनी हृदेश त्रिपाठी समूहबाट सूर्य चिह्न लिएर चुनावमा होमिँदा तत्कालीन कांग्रेस जिल्ला सभापति तथा सिँचाइ राज्यमन्त्री आचार्यलाई झन्डै चार हजार मतान्तरले पराजित गरे । गुप्ताले ३५ हजार उक सय २७ मतका साथ विजयी हुँदा आचार्यले ३१ हजार पाँच सय ६६ मत ल्याएका थिए ।

कांग्रेस उम्मेदवार आचार्य २०७० को संविधानसभामा निर्वाचित भए पनि त्यसउता र यता कुनै चुनाव जितेका छैनन् । वि.सं २०५६ मा कांग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेका हुन् आचार्यले २०७० सालमा संविधानसभा निर्वाचन क्षेत्र नं ४ बाट चुनाव जितेका हुन् । गुप्ता र आचार्य बीचको प्रतिस्पर्धा भने दोस्रो पटक हुन थालेको छ । 

गुप्ताले विसं २०६४ र २०७० मा कांग्रेस नेता सुधाकरण पाण्डेयलाई पराजित गर्दै चुनाव जितेका थिए । आचार्यले २०७० मा एमालेका नेत्रराज अधिकारीलाई पराजित गरेर विजयी भएका थिए । वि.सं २०७४ मा मात्र उनी दुवै बीच प्रतिस्पर्धा हुन पुगेको हो ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा बुद्धभूमि नगरपालिकाका १० वडा, कपिलवस्तु नगरपालिकाका सात वडा, यशोधरा गाउँपालिकाका आठ वडा र महाराजगञ्ज नगरपालिकाका सात वडा छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार बुद्धभूमि नगरपालिकाको नगर प्रमुख, उपप्रमुख कांग्रेसले जित्दा वडा नं  १, २, ६, ८ र ९ गरी पाँच वडामा कांग्रेस विजयी भएको छ । एमालेले वडा नं ३, ४, ५ र ७ मा जीत हात पारेको छ । वडा नं १० मात्र जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ ।

यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ । आठ वडामध्ये वडा नं १, २ र ८ एमाले उम्मेदवारले जितेका छन् । वडा नंं ३ र ७ कांग्रेसले जितेको छ । वडा नं ६ जनमत पार्टीले जित्दा वडा नं ४ जसपाले जितेको छ भने वडा नं ५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कपिलवस्तु नगरपालिकाको नगर प्रमुख र उपप्रमुख जसपाले जितेको छ । बाह्र वडामध्ये वडा नं ७, ८, ९, १० र ११ प्रतिनिधिसभा क्षेत्र नं १ मा पर्दछन् । प्रतिनिधिसभा क्षेत्र नं २ मा पर्ने वडामध्ये एमालेले वडा नं २, ४ र ६ मा जीत हात पारेको छ । कांग्रेसले वडा नं ३, ५ र १२ जितेको छ । जसपाले वडा नं १ मात्र जितेको छ ।

महाराजगञ्ज नगरपालिकाको नगर प्रमुख र उपप्रमुख कांग्रेसले जितेको छ । एघार वडा रहेको यो नगरपालिकाका वडा नं १, २, ३, ४, ८, ९ र १० यो निर्वाचन क्षेत्रमा पर्दछन् । सोमध्ये वडा नं १, २, ३, ८ र १० कांग्रेसले जितेको छ । वडा नं ४ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले जित्दा वडा नं ९ मा एमालेले जितेको छ । 

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षले पाएको मतका आधारमा नेपाली कांग्रेस अगाडि देखिन्छ । कांग्रेसको ३० हजार नौ सय ९८, एमालेको २७ हजार दुई सस ९८, जसपाको छ हजार नौ सय आठ, लोसपाको छ हजार तीन सय ८६, माओवादीको चार हजार चार सय ५९, राप्रपाको दुई हजार ३५, नेकपा (एस) को छ सय ९१ मत रहेको छ ।

कांग्रेस उम्मेदवार आचार्यलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) को दरिलो साथ छ भने गुप्तासँग एमाले मात्र रहेको छ । यो निर्वाचन क्षेत्रमा जसपाले उम्मेदवारी दिएको छैन भने लोसपाले पूर्वमन्त्री अकवाल शाह चुनावी मैदानमा रहेका छन् । उनको पार्टीको उपस्थिति कमजोर भए पनि व्यक्तिगत प्रभावका कारण राम्रै मत ल्याउने मतदाता बताउँछन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख २१ हजार छ सय ७६ मतदाता रहेका छन् । त्यसमा पुरुष मतदाता ६६ हजार रहेका छन् भने महिला मतदाता ५५ हजार छ सय ७६ रहेका छन् ।

यस क्षेत्रमा ८३ मतदानस्थल र एक सय सय ५५ मतदान केन्द्र तय गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिइन् । प्रदेशसभा  ‘१’ तर्फ सत्तागठबन्धनबाट नेपाली कांग्रेसका विक्रमसिंह थापा चुनावी मैदानमा रहेका छन् ।

नेपाल प्रहरीका पूर्व एसएसपीसमेत रहेका थापा यो क्षेत्रको नयाँ अनुहार हुन् । एमालेबाट नवराज लामिछाने उम्मेदवार रहेका छन् । विसं २०७४ को चुनावमा समेत यो प्रदेशसभामा जितेको एमालेले लामिछानेलाई उम्मेदवार बनाएको हो । उनी पनि नयाँ अनुहार हो । प्रदेशसभाभित्र दुवैजना नयाँ अनुहार प्रतिस्पर्धामा उत्रिएपछि चुनाव रोचक बन्ने अनुमान छ ।

प्रदेशसभा ‘२’ तर्फ सत्तागठबन्धनले नेपाली कांग्रेसका सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ । संविधानसभाका दुई चुनाव र प्रदेशसभाको एक चुनाव हारेका पाण्डेय कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहेका छन् । पाण्डेयलाई एमालेका उम्मेदवार धर्मबहादुरलाल श्रीवास्तवले कडा टक्कर दिएका छन् ।

गत चुनावमा समेत प्रदेशसभा जितेका श्रीवास्तव लुम्बनी प्रदेशबाट मन्त्रीसमेत बनेका थिए । यो निर्वाचन क्षेत्रमा पाण्डेय र श्रीवास्तवबीच मात्र चुनावी प्रतिस्पर्धा हुने छैन । जसपाका अब्दुल रसिद पनि बलिया प्रतिस्पर्धी देखिएका छन् । यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

उम्मेदवारहरू विकासका एजेण्डा लिएर घरदैलोमा व्यस्त छन् । जिल्लाको मध्यभागमा पर्ने यो क्षेत्र पूर्वतया कृषिमा आधारित क्षेत्र हो । जिल्लाका अरु दुई निर्वाचन क्षेत्रभन्दा बसाइँसराइ गरी यहाँ आउनेको सङ्ख्या कमै छ । उद्योगधन्दा, कलकारखाना खासै नभएको यो क्षेत्रमा खेतीपाती नै यहाँका मतदाताको प्रमुख काम हो । सिँचाइ सुविधा नहुँदा बर्सेनि किसान मर्कामा पर्दै आएका छन् । उम्मेदवारहरूसँग सिँचाइको माग गरेको बुद्धभूमि वडा नं ९ की लक्ष्मी चौधरीले बताए । 

हरेक निर्वाचनमा सिँचाइ माग्दै आए पनि खासै सुनुवाइ नभएको उनको भनाइ छ । यो निर्वाचनमा पनि सिँचाइ नै आफूहरूको माग रहेको उनी बताउँछन् । घरदैलोमा व्यस्त उम्मेदवार पनि सिँचाइ, लालपूर्जा, नदी कटान नियन्त्रण, पक्की सडकजस्ता चुनावी नारा लिएर घरदैलोमा गइरहेका छन् ।