इलोन मस्कद्वारा ट्विटरको सञ्चालक समिति भङ्ग



अमेरिकी अर्बपति इलोन मस्कले सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति भङ्ग गर्दै आफ्नो नियन्त्रण कसिलो पारेका छन् । महिनौँदेखिको रस्साकस्सी अन्त्य गर्दै गत साता ४४ अर्ब डलरमा ट्विटर किनेका मस्क अब आफैँ उक्त कम्पनीको प्रमुख कार्यकारी हुनेछन् ।

विश्वभरिका राजनीतिज्ञ तथा पत्रकारहरूले प्रयोग गर्ने ट्विटर किनेलगत्तै उनले त्यसमा आफ्नो नियन्त्रण गहिरो बनाउँदै लगेका छन् । उनले सोचिरहेका सुधारहरूमध्ये ट्विटरले खाताहरूलाई गर्ने प्रमाणीकरणका तौरतरिका अनि रोजगारी कटौती रहेका छन् ।


वाशिङ्टन पोस्ट पत्रिकाले जनाएअनुसार पहिलो चरणका कटौतीबारे अहिले छलफल चलाइएको छ जसले करिब २५ प्रतिशत कर्मचारी प्रभावित हुनसक्छन् । उच्च तहका कार्यकारीहरूलाई कामबाट हटाइसकिएको छ ।

तिनको ठाउँमा मस्कले आफ्ना निकट मानिसहरूलाई ल्याउँदै छन् । सोमबार अमेरिकाको धितोपत्रसम्बन्धी नियामक निकायमा गरिएका फाइलिङ्मा ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीले ५४.२० डलरका दरले करिब ९८ करोड डलर बराबरका उनका १ करोड ८० लाख कित्ता शेअरलाई नयाँ निजी कम्पनीमा हालेका छन् ।

डोर्सीले गत मे महिनामा नै ट्विटरको सञ्चालक समिति छाडेका थिए। उनले मस्कको ट्विटर खरिदको समर्थन गरेका थिए ।

यसबीच प्रविधि लगानीकर्ता जेसन क्यालाक्यानीसले उनको ट्विटरको परिचय ‘चीफ मिम अफिसर’ भनेर बदल्दै आफू तत्कालको सङ्क्रमणकालका निम्ति’ट्विटरमा हल्लिरहेको’ उल्लेख गरेका छन् । उनले विज्ञापनदेखि भिडियोसम्मका विषयमा ट्विटरमार्फत् मानिसहरूको सुझाव मागिरहेका छन् ।