भारतले कोरियली प्रायद्वीपमा दिगो शान्ति कायम गर्न आणविक निःशस्त्रीकरणमा जोड दिँदै त्यसनिम्ति निरन्तर समर्थन रहने प्रतिबद्धता संयुक्त राष्ट्रसङ्घसमक्ष पुनः व्यक्त गरेको छ ।
उत्तरकोरियाले आफ्नो पूर्वी समुद्री क्षेत्रमा अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि शुक्रबार भएको राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकमा कोरियली प्रायद्वीपका साथै समग्र विश्वको हितका खातिर आणविक निःशस्त्रीकरण अपरिहार्य भएको बताएको हो ।
बैठकमा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले कोरियाली प्रायद्वीपमा शान्तिसुरक्षाको प्रत्याभूति सामूहिक हितमा भएकाले आणविक निःशस्त्रीकरणका लागि भारतको निरन्तर समर्थन रहने दोहो¥याइन् । कूटनीति र वार्ताका माध्यमबाटै कोरियाली प्रायद्वीपको समस्या समाधान हुनुपर्नेमा भारत दृढ अभिमत रहेको उनले बताइन् ।
प्योङयाङले जापानको सागरमासमेत क्षेप्यास्त्र प्रहार गरेका खबरले चिन्ता बढाएको भन्दै उनले त्यस्ता गतिविधिबाट सुरक्षा परिषद्को प्रस्तावको गम्भीर उल्लङ्घन भएको बताइन् । उनले उत्तर कोरियासम्बन्धी परिषद्को प्रस्तावको पूर्ण कार्यान्वयनको लागि आह्वान पनि गरिन् ।