आचारसंहिता कार्यान्वयनमा आयोग दण्डात्मकतर्फ : आयुक्त डा तुलाधर



काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि जारी गरिएको आचारसंहिता कार्यान्वयन गराउन आयोग दण्डात्मकतर्फ अघि बढेको निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले बताएकी छन् ।

निर्वाचनको तयारीका सम्बन्धमा आज नुवाकोटमा अनुगमनका लागि आएका आयुक्त डा तुलाधरले आयोगमा हालसम्म आचारसंहिता उल्लङ्घनका २८ वटा उजुरी परेकामा त्यसमध्ये ११ जनालाई जरिवाना तिराएको जानकारी दिइन् ।


‘आचारसंहिता उल्लङ्घनका घटनाको उजुरीमा स्पष्टीकरण सोधेर के भएको रहेछ भनेर बुझ्ने काम गरिन्छ’, उनले भनिन् , ‘चित्तबुझ्दो जवाफ नपाएमा कारबाही गरिने भएकाले यस निर्वाचनमा ११ जनालाई जरिवाना तिराउँदै निर्वाचनलाई निष्पक्ष बनाउन आयोग आचारसंहिता कार्यान्वयनमा कडा रूपमा प्रस्तुत भएको छ ।’

आजदेखि सुरु भएको स्थिर समय ९मौन अवधि०मा आचारसंहिता उल्लङ्घनको घटना वृद्धि हुनसक्ने भएकाले त्यसतर्फ आयोग थप चनाखो भएको उनको भनाइ छ । आचारसंहिता उल्लङ्घनको घटना रोक्नदेखि निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि सहयोग पु¥याउन आयुक्त डा तुलाधरले सञ्चारकर्मीलाई आग्रह गरिन।

आयुक्त डा तुलाधरका अनुसार गत स्थानीय तहको निर्वाचनमा ७१ प्रतिशत मत खसेको थियो । उनले यही आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा ७५ प्रतिशत मतदान हुने लक्ष्य आयोगले लिएको बताइन्।