अमेरिकी सिनेटमा डेमोक्रेटिक दल आफ्नो बहुमत कायम राख्न सफल



एउटा महत्वपूर्ण राज्य नभाडामा भएको जितसँगै अमेरिकाको माथिल्लो सदन सिनेटमा डेमोक्रेटिक दलले आफ्नो बहुमत कायम राख्ने भएको छ ।

तीव्र प्रतिस्पर्धामा उनीहरूकी उम्मेदवार क्याथरिन कोर्टेज मास्टोले डोनल्ड ट्रम्पले समर्थन गरेका रिपब्लिकन उम्मेदवार एडम ल्याक्सल्टलाई पराजित गरिन् ।


मास्टो ६ वर्ष अघि अमेरिकी सिनेटमा चुनिने पहिलो ल्याटिन महिला बनेकी थिइन् । डेमोक्रेटहरूसँग अब ५० सिट रहेको छ भने रिपब्लिकनहरूसँग ४९ सिट छ ।

जोर्जियामा डिसेम्बर महिनामा फेरी हुन लागेको चुनावले बाँकी एउटा सिट तय गर्नेछ । यदि सिनेटमा दुवै दलको बराबरीको अवस्था आएको खण्डमा उपराष्ट्रपति कमला ह्यारिसलाई मतदानको अधिकार हुनेछ ।

सर्वेक्षणहरूले कमजोर व्यक्तिगत समर्थन रहेको भनी देखाएका र ४० वर्ष यताकै ठूलो मूल्यवृद्धि नियन्त्रणका लागि सङ्घर्ष गरिरहेका राष्ट्रपति बाइडनका लागि यो महत्वपूर्ण उपलब्धि हो । नभेडाको नतिजापछि बाइडनले चुनावमा देखिएको मतदाताको उत्साहजनक उपस्थितिप्रति आफू ज्यादै सन्तुष्ट रहेको बताए ।

उनले अब रिपब्लिकनहरूले ‘आफू को हो’ भनेर निर्क्योल गर्नुपर्ने अवस्था आएको उल्लेख गरे । डेमोक्रेट दलका सिनेटका नेता चक सुमरले अमेरिकी नागरिकले चुनावी परिणामबाट मतदाताले रिपब्लिकन दलका ‘द्वन्द्व फैलाउने खालका अभिव्यक्ति’ अस्वीकार गरेको देखिएको बताए ।