समयमै सयपत्री नफूल्दा धनकुटाका किसान समस्यामा



धनकुटा । लाँकुरे, स्याउले र सिप्तेनलाई सयपत्री फूलको पकेट क्षेत्रका रुपमा चिनिन्छ ।

तर, यसवर्ष भने तिहार लक्षित फूल नफूलेपछि यहाँका कृषक समस्यामा परेका छन् । धनकुटा नगरपालिका–३ मा पर्ने यी गाउँमा सयभन्दा बढी किसानले तिहार लक्षित फूल खेती गर्दै आएका छन् । हरेक वर्ष तिहारमा ५० लाखभन्दा बढीको सयपत्री फुूल जिल्ला बाहिर जाने गरेको थियो ।


यस बर्ष समयमा फूल नफुलेको वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए । फूल खेतिमा किसानको लगानी र व्यापार राम्रो भएकाले २०७५ सालमा वडाले विशेष अनुदानको दिएर उन्नत जातको फूल खेती कार्यक्रम सुरु गरेको थियो । फूल समयमै नफूल्दा धेरै घाटा हुने लाँकुरे गाउँका नवीन मल्लले जानकारी दिए ।

गतवर्ष १ लाख ५० हजार रुपैयाँको फुल बेचेका मल्लले यो वर्ष चार रोपनीमा लगाएका छन् । उक्त फूल भरखर मात्र फूल्न थालेका छन् । जिल्लामा हाल सयपत्री फूलको व्यवसायीक खेती नभएको र मौसमी खेती मात्र हुनेगरेको कृषि ज्ञान केन्द्र धनकुटाले जानकारी दिएको छ ।

जलवायु परिवर्तनका कारण मौसम परिवर्तन र कृषि क्षेत्रमा प्रयोग हुने अधिक विषादीका कारण समयमै फूल नफूलेको हुनसक्ने कार्यालय प्रमुख नगेन्द्रबहादुर राणाले बताए ।