सन्दीपविरुद्धको अनुसन्धान सकियो, प्रहरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस



काठमाडाैँ । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले यही कात्तिक ६ गतेदेखि लागू हुने गरी म्याद थप गरेको हो । अदालतले लामिछानेलाई हिरासतमा राख्नका अनुमति दिएको यो चौथो पटक हो ।

प्रहरीले लामिछानेविरुद्धको अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको छ । तिहार पर्वको बिदा परेका कारण अदालतमा मुद्दा दर्ता भने भएको छैन ।


सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले प्रहरीले शुक्रबार अनुसन्धान फाइल पेस गरेको बताए । मुलुकी फौजदारी अपराधसंहिता अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहे अनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने प्रहरीको सुझाव छ । सोही अनुसार प्रहरीले फाइल पेस गरेको छ ।

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीपले बलात्कार गरेको पुष्टि भएको दाबी गर्दै प्रहरीले १२ वर्षसम्म कैद सजाय मागदाबी हुनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो ।

शुक्रबार नै अनुसन्धान फाइल सरकारी वकिल पुगे पनि सोमबारबाट तिहारको बिदा भएकाले तिहारपछि मात्रै थुनछेक बहस हुने सम्भावना रहेको छ। सरकारी वकिल कार्यालयले भने आज आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ताको तयारी थालेको छ।अदालतले थुनछके बहसपछि साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ । 

गत भदौ २१ मा १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालमा भदौ २१ गते किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरीमा उनले आफूलाई भदौ ५ मा गाडीमा राखेर नगरकोट पुर्‍याएको, त्यही साँझ अबेर फर्किएर तिलगंगाको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको उल्लेख गरेकी छन् ।

होटलमा बसेको भोलिपल्टै लामिछाने केन्यासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए । केन्यासँग ट्वान्टी–२० पछि एकदिवसीय शृंखला पनि भएको थियो तर लामिछाने उक्त शृंखला नखेली क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न बेस्ट इन्डिज पुगेका थिए ।

लामिछाने वेस्ट इन्डिजमै रहँदा भदौ २२ मा उनीविरुद्ध प्रहरीमा बलात्कार आरोपमा जाहेरी दर्ता भएको थियो । त्यसको भोलिपल्ट काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको थियो ।

क्रिकेट खेल्न विदेश पुगेका सन्दिप नर्फिकएपछि प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस नै जारी भएको थियो। त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए ।