धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन कमजोर भए देश दुर्घटनामा जाने बताएका छन् । आइतबार सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई कैलालीको धनगढीमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले आगामी निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
उनले एमाले गठबन्धनको उद्देश्य गणतन्त्र उल्ट्याउने र राजतन्त्र पुनःस्थापना गर्ने रहेको बताए। आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ हुने उनको भनाइ छ। उनले भने, ’बामपन्थी र कांग्रेसको गठबन्धनले इतिहासमा ठूला ठूला परिवर्तन भएका छन, त्यसैले यो देश जोगाउन, संविधान जोगाउन र प्रतिगमन सच्याउने चुनाव हो, गठबन्धनमा निर्धक्क भोट हाल्नुहोला।’
जतिबेला काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र आफ्नो बीचमा शान्ति सम्झौतामा हस्ताक्षर भयो, त्यती बेला नै आफूले रुखमा भोट हालिसकेको उनले बताए ।
उनले भने,’जतिबेला शान्ति सम्झौतामा गिरिजाबाबु र मैले हस्ताक्षर गर्यौं, त्यतिबेला मैले रुखमा भोट हालीसकेँ। अनी गरिजाबाबुले पनि हँसिया हतौडामा भोट हालिसके।’ उनले चुनाव चिह्न देख्दा भोट हालौं की नहालौं भन्ने कुरा त्यागिदिन आग्रह गरे । उनले केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले ’एमाले’ नभएको जिकिर गर्दै माधवकुमार नेपाललाई ढाडस दिने प्रयास गरे ।
उनले भने,’अहिलेको एमाले एमाले होइन, माधवकुमार नेतृत्वमा रहेको बेलाको पो एमाले हो। विस्तृत शान्ति सम्झौताका बेला ओली नेतृत्वमा हुन्थे भने अहिले यो व्यवस्था आउने थिएन ।’