काठमाडौँ । चीनले लस्कर–ए–तैएबा (एलइटी) का सदस्यलाई विश्व आतङ्कवादी घोषणा गर्ने भारत र अमेरिकाको प्रस्तावप्रति असहमति जनाएको छ ।
भारत र अमेरिकाको सहयोगमा पाकिस्तानस्थित उक्त समूहका सदस्य शाहिद महमूदलाई विश्व आतङ्कवादीका रूपमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत प्रस्तावलाई चीनले अस्वीकार गरेको हो । यसअघि पनि तीनपटक प्रस्तुत भइसकेको उक्त प्रस्तावको विपक्षमा चीन उभिएको थियो ।
अमेरिका र भारतले बुधवार महमुदलाई राष्ट्रसङ्घीय सुरक्षा परिषद्को १२६७ अल–कायदा प्रतिबन्ध समितिअन्तर्गत विश्वव्यापी आतङ्ककारीका रूपमा कालोसूचीमा राख्ने प्रस्ताव पेश गरेका थिए । एलइटीका सदस्य साजिद मीर, एलईटी र जमात–उद–दवाका नेता अब्दुल रहमान मक्की र अब्दुल रउफलाई आतङ्कवादीमा सूचीकृत गर्न प्रस्ताव गरिएको थियो ।
यसअघि पनि चीनले साजिद मीरलाई विश्व आतङ्कवादी घोषणा गर्ने प्रस्तावलाई अस्वीकार गरेको थियो । उनी एलइटीका शीर्ष ‘कमाण्डर’ हुन् ।
उनी सन् २००८ मा मुम्बईमा भएको आतङ्कवादी हमलाका मुख्य योजनाकार मध्येका एक हुन् । मीर भारत र पश्चिमी देशलगायत धेरै देशका नागरिकहरूको मृत्युका निम्ति जिम्मेवार मानिन्छन् ।
सन् २००८ को नोभेम्बर २६ मा एलइटीका १० जना आतङ्वादी समुद्रीमार्गबाट मुम्बइ पुगेका थिए । उनीहरूले ताज मुम्बइ होटलमा आक्रमण गर्दा १८ जना सुरक्षाकर्मीसहित एक सय ६६ जनाको ज्यान गएको थियो । आतङ्कवादीले तीन दिनसम्म होटलमा बसेकाहरूलाई बन्दी बनाएका थिए ।