राजमार्गमा जताततै पहिरो, सिस्नेखोलामा सडक अवरुद्ध



धादिङ । धादिङको पृथ्वीराजमार्ग र त्रिभुवनराजपथको विभिन्न स्थानमा पहिरो र बाढीका कारण राजमार्गमा यातायात साधन सञ्चालनमा समस्या आएको छ । त्रिभुवनराजपथअन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्नेखोला सुरुङमार्ग क्षेत्रमा लगातारको पहिरो हटाउनसमेत समस्या भएको छ ।

लगातारको वर्षाले सडकमाथिबाट अनियन्त्रितरूपमा पहिरो झरिरहेको छ । डोजरर स्काभेटर तयारी अवस्थामा राखिए पनि पहिरो हटाउन समस्या आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । पृथ्वीराजमार्ग क्षेत्रमाथि गाउँमा स्थानीय सरकारले जथाभावी सडक खनेका कारण पहिरो आउने, लेदो बग्ने र काठमाडौँ भित्रिने राजमार्ग अवरुद्ध हुने गरेको छ ।


तीनदिनदेखिको लगातारको वर्षाका कारण पृथ्वीराजमार्गको आदमघाटमा सडक माथिबाट पहिरो र रुखसमेत आएर राजमार्ग अवरुद्ध भएको छ । सुरक्षाकर्मीले सडकमा आएको पहिरो र रुख हटाएर यातायात सञ्चालन गराएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्यामबहादुर खत्रीले बताए ।

गल्छी गाउँपालिका महेशदोभान बैरेनी क्षेत्रमा सडक माथिबाट लेदो आएर सडकमा यातायात अवरुद्ध भएको छ । गल्छी बजारमा सडक माथिबाट आएको पहिराका कारण सवारीसाधनको राजमार्गमा लामो जाम लागेको छ । डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको भए पनि लगातारको पहिराले यातायात सञ्चालनमा कठिनाइ आएको छ ।

धादिङबेँसीबाट उत्तरी नाकामा पर्ने रुबिभ्याली र खनियाबास क्षेत्रसँग आउनेजाने बाटो अवरुद्ध भएको छ । ठाउँठाउँमा पहिरो गएपछि यातायातका साधन दुई दिनदेखि चल्न छाडेको छ भने मानिससमेत आवतजावत गर्न कठिनाइ भएको खनियाबासका इमान तामाङले जानकारी दिए ।

लगातारको वर्षाले खोला तथा नदीमा बहाव बढेको छ भने पहिरो जाने सम्भावना भएका क्षेत्रमा समेत सतर्क रहन गाउँवासीलाई जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सूचना जारी गर्दै जिल्लाका १३ स्थानीय तहलाई विपद् पूर्वतयारीमा रहन र विपद् परेका राहत उद्धारमा लाग्नसमेत आग्रह गरेका छन् ।