माेरङका उम्मेदवारलाई चुनावकाे चटाराे



टङ्कीसिनवारी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुन गइरहेको निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी छ । यस्तोमा उम्मेदवारलाई चुनाव प्रचारका लागि भ्याइनभ्याई छ । आचारसंहिताको पालना गर्दै मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारले कसरत गर्नुपरेको छ । दिन रात नभनी प्रचार प्रसार अभियानलाई तीव्र बनाएका उम्मेदवारको न त सुत्ने ठेगान छ न त खाना खाने समय सन्तुलित नै छ ।

यस्तो अवस्थामा स्वास्थ्य बिग्रने हो कि भन्ने डर पनि कायमै छ । चुनावी प्रचार प्रसारका क्रममा अहोरात्र कार्यकर्ता, शुभचिन्तक र मतदातासँग घेरिएर बस्नु पर्ने हुँदा कतिपय उम्मेदवारलाई पर्याप्त विश्राम गर्न र स्वास्थ्य अनुकुल खान पाउन कठिन छ । आफ्नो क्षेत्र निरन्तर घुम्नु पर्ने हुँदा सुत्ने र खानपिनको ठेगान छैन । अव्यवस्थित भोजन र अनिँदोका कारण चुनावको मुखैमा अस्वस्थ भइने हो कि भन्ने चिन्ताले उम्मेदवारलाई सताएको छ ।


मोरङको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभाका सदस्य पदका लागि सत्ताघटक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार अमनलाल मोदीले आफू जनताको बीचमा नै रहने गरेको र काम गर्दै जाँदा बढीमा चार घण्टा सुत्ने गरेको बताए । उनले सुत्ने र खाने समयको तालिका नमिल्दा स्वास्थ्य बिग्रने र स्वास्थ्य बिग्रिए जनतालाई न्याय दिन नसक्ने भन्दै केही खानेकुरासँगै बोकेर हिँड्ने गरेको बताए । मोदीले चुनाव प्रचारका दौरान चाउचाउ, चिउरा, सातु बोकेर हिँड्ने गरेको बताए ।

मोरङको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभाका सदस्य पदका नेकपा (एमाले) –जनता समाजवादी पार्टी (जसपा) गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार विनोदप्रसाद ढकालले आफू प्रायः राति ११ बजे सुतेर सखारै ५ बजे ओछ्यान छाडिसक्ने बताए । उनले मानिसलाई छ घण्टाको निद्रा पर्याप्त भएको र आफूले पनि सक्दो छ घण्टाको विश्राम लिने प्रयास गर्ने गरेको बताए । ढकालका अनुसार उनी कर्नफ्लेक्स, चिया, फलफूल खाएर घरबाट निस्किन्छन् । घरदैलो अभियानकै दौरान जस्तो खानाको व्यवस्था हुन्छ त्यस्तै खानु हुन्छ । स्वास्थ्यप्रतिको ध्यान अपरिहार्य भएको उनले बताए ।

प्रदेशसभा सदस्य पदका लागि मोरङ निर्वाचन क्षेत्र नं ४ (२) मा सत्ताघटक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भीम पराजुलीले अहिले निर्वाचनको बेला आपूmले तीन÷चार घण्टामात्र सुत्न पाएको बताए । निद्रामा असर परे पनि भगवान्को आराधना, तप र ध्यानले शरीरको ऊर्जामा खासै प्रभाव नपरेको उनको भनाइ छ । उनले चिउरा, भुजिया र बिस्कुट बोकेर हिँड्ने गरेको बताउनुभयो । अनिँदोका कारण स्वास्थ्यमा समस्या आउने चिन्ता लाग्नु स्वाभाविक भएको उम्मेदवार पराजुलीले बताउनु भए पनि आफूलाई अहिलेसम्म ज्वरोले समेत नछोएको भन्न छुटाएनन् ।

प्रदेशसभा सदस्य पदका लागि मोरङ निर्वाचन क्षेत्र नं ५ (२) मा सत्ताघटक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अमृतकुमार अर्यालले निर्वाचन नजिकिँदै गरेको अवस्थामा मुस्किलले तीन साढे तीन घण्टा मात्र सुत्ने गरेको बताए । उनले चिउरा, झिझिया, चना, बिस्कुट, चिया र कहिलेकाहीँ पानीमात्र खाएर चुनाव प्रचारमा लाग्ने गरेको बताए । कार्यकर्ता र मतदाताले आफ्नो घरमा दाल भात खाइदिन आग्रह गरे पनि समय कम भएकाले साधारण खानेकुराबाट नै प्रायः काम चलाउने गरेको उनको भनाइ छ ।

प्रदेशसभा सदस्य पदका लागि मोरङ निर्वाचन क्षेत्र नं ६ (२) बाट नेकपा एमालेका उम्मेदवार कृष्ण बस्नेतले अहिले आफूलाई सुत्ने कुनै छुट नभएको बताए । उनी अहिले छिटोमा रातिको १ बजे सुत्ने र बिहानै ५ बजे नै उठ्ने गर्छन् । बस्नेतले मङ्सिर ४ गतेपछि मात्रै निद्रा पूरा गर्ने बताए । बस्नेतले चुनावी प्रचारका क्रममा भेट्दा खाना खाइहाल्ने नभेट्दा भोकै बस्ने दिनचर्या रहेको बताए । आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु पर्ने, राष्ट्रको पनि ख्याल गर्नुपर्ने, जनताका बीचमा गएर मत पनि माग्नु पर्ने भएकोले सबैतिर समन्वय मिलाएर हिँड्नु पर्ने उनको भनाइ छ ।

प्रदेशसभा सदस्य पदका लागि मोरङ निर्वाचन क्षेत्र नं ६ (२) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेशकुमार मास्केले मङ्सिर ४ गतेको निर्वाचनपछि चिकित्सककहाँ शरीर जाँच गराउने बताए । चुनाव प्रचारका दौरान अव्यवस्थित खाना र सुताइले रक्तचाप घटबढ भएको शङ्का लागेकाले स्वास्थ्यले चिन्तित बनाएको मास्केले बताए ।