माधव नेपालमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्वाचन आयोगको निर्देशन



काठमाडौँ । निर्वाचन आयोगले नेकपा (एकीकृत सजमावदी)का अध्यक्षमाधवकुमार नेपालमाथि कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको छ ।

आयोगका सहायक न्यायाधिवक्ता प्रकाश घिमिरले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र काट्दै नेपालमाथि कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएका हुन् ।


पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रचारका क्रममा निर्वाचन प्रभाव पार्ने कसूर गरेको आयोगको ठहर छ ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हाे। उक्त दफामा निर्वाचन कसुर गरेको आरोप लागेका व्यक्तिलाई कारबाही गर्न पक्राउसमेत गर्न सक्ने विषय उल्लेख छ ।

नेपाललाई स्पष्टीकरण सोधेकै दिन प्रहरीलाई समेत पत्र काटेर कारबाही प्रक्रिया थाल्न भनेको हो । आयोगले नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनेको भएपनि २४ घण्टा नबित्दै एकैदिन प्रहरीलाई समेत पत्र काटेर कारबाही प्रक्रिया थाल्न भनेको हो ।

हालै रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोध्नुको साथै प्रहरीलाई कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको हो । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले फ्री भिसा र फ्री टिकटमा मतदातालाई विदेश पठाउने भनी वक्तव्य दिएको आयोगको पत्रमा उल्लेख छ ।