मकवानपुर । छठ पर्वको तेस्रो दिन आज मकवानपुरको हेटौँडामा श्रद्धालु भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाएका छन् ।
आज बिहानै नुवाइधुवाई गरी निराहार व्रत बसेका बर्तालुहरूले हेटौँडा उपमहानगरपालिका–१ राप्ती नदीको किनारमा जम्मा भई अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
सूर्यदेवकोे पूरा उपासनासँगै बर्तालुहरुले व्रत सङ्कल्प गरेको भाकलअनुसारको विभिन्न परिकार तथा फलफूल, दूध, माटाको हात्ती, ढकनी, चढाएका छन् । यसो गर्नाले आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।
भक्तजनहरूलाई रातभरि जाग्राम बस्नका लागि छठ पूजा व्यवस्थापन समितिले छ सय फिट लामो पण्डाल र पाल टाँगेको समितिका संयोजक सुशील सनुरियाले जानकारी दिए ।
हजारौँको सङ्ख्यामा भक्तजनहरूको उपस्थिति हुने भएकाले सुरक्षा चुनौती नहोस् भन्नका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरसँग समन्वय गरी सिभिल र पोसाकमा बाक्लो सङ्ख्यामा प्रहरी खटाइएको समेत उनले जानकारी दिए ।