पर्यटक नहुँदा बेगनासका डुङ्गा व्यवसायी निराश



लेखनाथ । डुङ्गा चलाउन सुरु गरेको २० वर्ष पुग्यो । त्यतिबेला डुङ्गा चढ्ने व्यक्तिबाट प्रति घण्टा दुई रुपैयाँ शुल्क लिने गरिन्थ्यो । अहिले त्यो शुल्क वृद्धि भई रु सात सय पुगेको छ ।

पोखराको लेखनाथस्थित बेगनास तालमा दुईदशकदेखि डुङ्गा चलाउँदै आएका डुङ्गा व्यवसायी ५५ वर्षीय बाबुराम कोइरालाले भने, ‘तीन वर्षयता पर्यटक नहुँदा व्यवसाय सुस्तायो, महँगीले सीमा नाघ्यो, बाच्न पनि कठिन भयो ।’ बेगनासतालमा मात्र दुई सय डुङ्गा व्यवसायी आबद्ध छन् ।


तीन वर्ष अघिसम्म डुङ्गा चलाएर मासिक रु २०/२५ हजार आम्दानी गर्दै आएका डुङ्गा व्यवसायीको अहिले मासिक आम्दानी मुस्किलले रु तीन हजार मात्र हुने गर्छ । ‘त्यसले एक व्यक्तिलाई पनि खान पुग्दैन परिवार कसरी पाल्ने, देशमा यो अवस्था कहिलेसम्म हो’, कोइरालाले भने, ‘कोरोना सङ्क्रमण हटेसँगै यस वर्षको दसैँमा पर्यटक आउने आशा गरेका थियौँ लगातारको वर्षाले रोकिदियो ।’

दसैँमा पर्यटक आउछन् र दसैँ खर्च निकालौँला भनी आशा गरेका डुङ्गा व्यवसायी यसपटक निराश बने । ‘ऋण काढेर दसैँ मनायौँ’ कोइरालाले भने । अधिकांश डुङ्गा व्यवसायीको अवस्था दयनीय नै रहेको बेगनास ताल डुङ्गा व्यवसायी समितिका कार्यवाहक अध्यक्ष रविराज कँडेल बताए। उनका अनुसार तीन वर्षअघिको तुलनामा अहिले पाँच प्रतिशत मात्र पर्यटक छन् । तालमा आवद्ध व्यवसायीले तालमा डुङ्गा चलाउन पालो कुर्नुपर्ने उनले बताए ।

फेवाताल आउने सबै पर्यटक बेगनास तालमा आउने भए पनि केही मात्रामा राहात हुन्थ्यो । पोखरा आएका पर्यटकमध्ये ३० प्रतिशत मात्र बेगनास ताल पुग्ने गर्छन् ।

अब पर्यटक आउछन् कि भन्ने आशा रहेको अर्का डुङ्गा व्यवसायी विश्वनाथ कँडेलले बताए । तालपारीका गाउँ बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरेडाँडा र लमजुङको पसगाउँका मानिस ढुङ्गाबाट पोखरा बजार आवतजावत गर्ने गरेको जानकारी कँडेलले दिए।

तीन सय ७३ हेक्टर क्षेत्रफलमा फैलिएको बेगनास तालमा नौका विहार गर्ने पर्यटकले अन्नपूर्ण हिमश्रृंंखला, बेगनासको गाउँ, तालको छेउमा रहेको वराह थान, सुन्दरी डाँडा, माझठाना, कालिका, माझी कुना, तालका बाँध र ताल वरपरको जंगलको दृश्यावलोकन गर्न सक्छन् । बेगनास ताल ढुङ्गा व्यवसायी समितिले आफ्नो खर्च चलाउन दुई मोटर र चार वटा प्याडलबोट सञ्चालनमा ल्याएको छ । मोटर बोटमा नौका विहार गरेवापत पर्यटककले प्रतिघण्टा चार सय रुपैयाँ तिर्नुपर्छ ।