मकवानपुर । नेपाल पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार कौशल पाण्डेको बिहीबार निधन भएको छ । उहाँको ७५ वर्षको उमेरमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित पाण्डेको केही सातादेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो ।
मकवानपुरे पत्रकारिताका संस्थापकमध्येका एक पाण्डेको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुुगेको नेपाल पत्रकार महासङ्घ मकवानपुर र पत्रकारिता क्षेत्रसँग सम्बन्धित संस्था तथा सङ्गठनले शोक वक्तव्य जारी गरेका छन् । पाण्डेले लामो समय शिक्षण पेशामा पनि योगदान दिएका छन् ।
उनी क्रान्तिकारी पत्रकार सङ्घ मकवानपुरको संस्थापक अध्यक्ष, प्रेस सेन्टर नेपालको केन्द्रीय सल्लाहकार, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको अध्यक्षलगायत विभिन्न सङ्घसंस्थाको नेतृत्वमा रहेका थिए । उनकै प्रकाशन सम्पादनमा मकवानपुरको पुरानो ‘प्रयास अर्धसाप्ताहिक’ प्रकाशन हुँदै आएको छ ।
पाण्डेको आज राप्ती तटमा दाहसंस्कार गरिँदैछ ।