काठमाडाैँ । नेपाल लेयर्स कुखुरापालक व्यवसायी सङ्गठित भएका छन् । देशैभरका अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फर्म सङ्गठित भएका हुन् । व्यवसायीले तदर्थ समिति गठन गरेका छन् ।
समितिको अध्यक्षमा विनोद पोखरेल, महासचिव शोभाकान्त ढकाल, सचिव मदन चिरञ्जीवी पोखरेल, कोषाध्यक्ष प्रकाश चापागार्इं, सदस्य राजेन्द्र लामिछाने, रामलाल भुसाल, ज्योतेन्द्र श्रेष्ठ, गङ्गा भट्टराई, भरत शर्मा, गोकुलनाथ पौडेल, पीताम्बर सञ्जेल, सञ्जीव खनाल रहेका छन् । समितिको संरक्षकमा गुणचन्द्र विष्ट, सल्लाहकारमा सुरेश वैद, दीपककुमार प्रधान, शिवाजी राव रहेका छन् ।
नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेको अध्यक्षतामा आज यहाँ सम्पन्न भेलामा गुणचन्द्र विष्टले सबै सङ्घसंस्था मिलेर पोल्ट्री व्यवसायलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा विनोद पोखरेलले संस्था गठन गर्नुपर्ने कारण र उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले पोल्ट्री नीति निर्माणका लागि राज्यसँग पहल गर्न, अण्डाको बजारलाई व्यवस्थित बनाई अण्डाको खपत बढाउन समिति गठन गरिएको बताए ।
सो अवसरमा राजेन्द्र लामिछाने, ज्योतेन्द्र श्रेष्ठ त्रिलोचन कँडेल, शोभाकान्त ढकाल लगायतले पोल्ट्री व्यवसायका समस्याबारेमा बोलेका थिए । नेपालको अण्डा उत्पादनमा ८० प्रतिशत हिस्सा ओगट्ने ४० जना हाराहारी व्यवसायी सङ्गठित भएका हुन् । बजारमा मूल्य एकरूपता कायम गर्न, समस्या मिलेर समाधान गर्न समिति गठन गरिएको सचिव पोखरेलले बताए । नेपालमा दैनिक ४८ देखि ५० लाख अण्डा उत्पादन हुँदै आएको छ । अण्डा उत्पादन क्षेत्रमा मात्रै रु ७५ अर्ब लगानी भएको बताइन्छ ।