नागरिकसँग आज टेलिफोन संवाद गर्दै ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार ओलीले नागरिकका प्रश्नको जवाफ दिने भएका हुन् । उनीसँग कुरा गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको ओलीको सचिवालयले जनाएको छ । ‘यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद,’ उनले भनेका छन् ।


धेरै सहभागिता भएको भन्दै बिहीबार दिउँसो २ बजेपछि नाम टिप्न बन्द गरिएको थियो । नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न ओलीले गत मंगलबार अनुरोध गरेका थिए ।

संसदीय चुनाव नजिकिँदै जाँदा ओलीले चुनावी अभियान तीव्र पारेका छन् । केही दिनअघि मात्र प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई खुला डिबेटका लागि आह्वान गरेका थिए ।