नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः उत्साहित खेलाडी, न्यून दर्शक



पोखरा । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ यतिबेला पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको छ । यो खेलप्रेमीका लागि एउटा उत्सव हो ।

अहिले कास्कीलगायत गण्डकी प्रदेशका आठ जिल्लामा विभिन्न ३६ खेलमा छ हजार बढी खेलाडी मैदानमा उत्रेर आफ्नो खेल प्रदर्शन गरिरहेका छन् । यद्यपि खेलाडीले पर्याप्त दर्शकको साथ भने पाउन सकेका छैनन् । पर्यटकीय राजधानी पोखराको खेल मैदानमा माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलामा आँखा जुधाएर खेल्न पाउँदा खेलाडी जति उत्साहित छन् त्यति नै दर्शकको गर्विलो उपस्थिति हुन नसक्दा खेलाडी आफ्नो प्रस्तुतिमा उत्साहित बन्न सकेका छैनन् ।


लमजुङका टेबलटेनिस खेलाडी प्रितम गुरुङले पहिलोपटक राष्ट्रिय खेलमा भाग लिनुभएको बताए । ‘म पहिलोपटक राष्ट्रिय खेलमा भाग लिन पाउँदा उत्साहित छु, टेनिस डबलमा तेस्रो स्थान हासिल गर्न सफल भयौँ, तर खेलमा दर्शकको उपस्थिति भने निकै न्यून छ’, उनले भने, ‘खेलाडीलाई उत्साह थप्ने नै दर्शकको साथ, माया र हुटिङले हो तर, सोचेजस्तो दर्शकको उपस्थिति देखिएन ।’

खेलप्रतिको क्रेज बढ्दै गइरहेको सन्दर्भमा दर्शकको उपस्थिति पनि महत्वपूर्ण हुने र दर्शकको न्यून उपस्थिति हुनुमा व्यवस्थापकीय कमजोरी हुनसक्ने उनको बुझाइ छ । महिला क्रिकेटको राम्रो सम्भावना रहे पनि खेलाडीलाई उत्साह थप्ने दर्शकको साथ भने रङ्गशालाको क्रिकेट मैदानमा देखिएन । खेलाडी आफैँ चिच्याएर उत्साह थपिरहेका थिए, मैदान वरिपरि दर्शकको उपस्थिति थिएन ।

महिला क्रिकेट खेलकुद प्रतियोगिताका संयोजक सञ्जयकान्त सिग्देलले क्रिकेट खेलमा दर्शकको कमजोर  उपस्थिति हुनुमा व्यवस्थापकीय कमजोरी भएको स्वीकार्छन् । ‘हामीबाट कमजोरी भएका छन्, यसअघिका प्रतियोगिता हेर्न आउने दर्शकलाई समेत हामीले ल्याउन सकेनौँ, त्यसका विभिन्न कारण हुन सक्छन् ।’

दर्शकका लागि ‘प्यारापिट’ बनाउन नसक्नु र राष्ट्रिय खेलमा धेरै ‘इभेन्ट’ हुनु र दर्शकमा विकल्प खुला भएकाले पनि दर्शक पाउन नसकिएको उनको भनाइ छ । ‘खेलका धेरै विकल्प भए यति शून्य हुन्छ भन्ने लागेको थिएन’, उनले भने, ‘यसलाई शिक्षाका रूपमा लिएर आगामी प्रतियोगितामा क्रिकेटप्रेमी दर्शकको उपस्थिति बढाउन पहल गर्नेछौँ ।’ उनले पर्वत बागलुङसँगै केही जिल्लाका महिला खेलाडी आएरसमेत खेल हेरेको बताउँदै यसलाई भने सकारात्मक पक्षका रूपमा लिनुपर्ने बताए ।

तनहुँबाट राष्ट्रिय खेलमा पहिलोपटक सहभागिता जनाएकी ब्याडमिन्टन खेलाडी दिलाशा रानाले सोचेजस्तो दर्शकको उपस्थिति हुन नसकेको बताइन् । सिङ्गल ब्याटमिन्टनमा पराजित हुन पुगे पनि अब डबल, मिक्स डबल खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आतुर छन् । रानाले एकैचोटी विभिन्न खेल हुँदा कुनै कुनै खेलमा दर्शकको कमजोर उपस्थिति भएको हुनसक्ने बताउँछन् । ‘दर्शकको एउटै रोजाइ हुन्न, जुन खेलमा रुचि राख्नुहुन्छ, त्यतै जानुहुन्छ अहिले धेरै खेल भइरहेका छन्’, उनले भने।

खेलप्रति दर्शको क्रेज बढाउन खेलाडी स्वयं र आयोजकको पनि दायित्वसँगै प्रचार-प्रसार पनि अपरिहार्य हुने उनको भनाइ छ । ह्याण्ड बलतर्फ स्वर्ण पदक जित्न सफल गण्डकी प्रदेशका खेलाडी विशाल बस्नेतले अरु खेलमा भन्दा ह्याण्डमा आफूहरुले दर्शकको साथ राम्रै पाएको प्रतिक्रिया दिए । झण्डै दुई दर्जन बढी अन्तर्राष्ट्रिय खेलमैदानमा पुगेर खेलकुदको रिपोर्टिङ गरेको अनुभव सङ्गालेका एसियाली खेलकुद पत्रकार महासङ्घका कोषाध्यक्ष एवं बिबीसी नेपाली सेवाका खेलकुद पत्रकार निरञ्जन राजवंशी खेलकुदको कुम्भमेलालाई आयोजकले थप व्यवस्थित र प्रचारात्मक गतिविधि गर्न चुकेको बताउँछन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनको समुपस्थितिमा भएको नवौँ राष्ट्रिय खेलको औपचारिक उद्घाटन समारोहमासमेत प्यारापिट खाली देखिनु नै कमजोर व्यवस्थापनको नतिजा भएको उनले बताए । ‘खेलले सिटी चिनाउँछ, खेलाडीको मनोबल उच्च बनाउने दर्शकको उपस्थिति निकै महत्वपूर्ण हुन्छ’, उनले भने, ‘यद्यपि गण्डकीमा भएको खेलमा खेलाडी उत्साह लिएर खेले पनि दर्शकको साथ सोचेजस्तो पाएनन् ।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले खेलप्रेमी भएको पोखरामा दर्शकको उपस्थिति कमजोर हुनुमा होस्ट गरेको गण्डकी प्रदेश र आयोजकबाट व्यवस्थापकीय कमी कमजोरी रहेको बताउँछन् । ‘पोखरा खेल पर्यटनको सहर पनि हो, यहाँ धेरै इभेन्ट हुँदै आएका छन् र उस्तै मात्रामा खेलप्रेमी दर्शक पनि छन्’, उनले भने, ‘खेलाडी उत्साह देखिएको यस प्रदेशमा दर्शकको उत्साहमा कमी देखियो ।’

राष्ट्रिय खेलकुद परिषद् गण्डकी प्रदेशका सदस्यसचिव धनश्याम पौडेलले दर्शकको उपस्थिति कम हुनुमा हरेक खेलको प्रत्यक्ष प्रसारण भएकाले र अर्कोतर्फ कोरोना र डेङ्गुका कारण पनि भिडमा मान्छेको रुचि कम भएको हुनसक्ने बताउँछन् । ‘हामीले प्रचार–प्रसारका लागि वडा तहदेखिनै गरेका थियौँ, अहिले भीडभाडभन्दा घरमै बसेर खेलको प्रत्यक्ष प्रसारण हेर्न मिल्ने भएकाले पनि दर्शकको उपस्थिति कमी भएको हो कि भन्ने हामीले अनुमान गरेका छौँ’, उनले भने। खेलाडीका लागि प्रत्यक्ष दर्शकको उपस्थितिले नै ऊर्जा थप्ने भएकाले यस विषयमा गम्भीर समीक्षा गरेर आगामी खेलमा दर्शकको उपस्थित बढाउने रणनीतिमा तय गर्न सकिने उनको भनाइ छ । 

झण्डै चार दशकपछि पोखराको खेलमैदानमा जारी नवौँं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेलमा १० खेल गण्डकी प्रदेशका आठ जिल्लामा र २६ खेल पोखराका खेलमैदानमा जारी छन् । ११ टिमका छ हजार एक सय ५७ खेलाडीमा चार हजार पाँच सय बढी खेलाडी भने पोखराको खेलमैदानमा छन् ।