काठमाडाैँ । काठमाडौँको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा जलेर एक महिलाको शङ्कास्पद मृत्यु भएको छ । होटलको कोठामा जलेकी २३ वर्षीय एक महिलाको उपचारका क्रममा मङ्गलबार कीर्तिपुर अस्पतालमा निधन भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले महिलाको मृत्युबारे छानविन गर्न मङ्गलबार नै दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउपर्नेमा होटलका कर्मचारी पवनकुमार श्रेष्ठ र महिलासँगै होटलमा बस्न गएका केशव रिजाल रहेका छन् ।
महिला होटलमा जलेर गम्भीर घाइते भए पनि होटलले प्रहरीलाई खबर नगरी अस्पताल लगेकाले घटना शङ्कास्पद भएकाले प्रहरीले आवश्यक अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता मैनालीले बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।