गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल र नेताको विकल्प नरहेको बताएका छन् ।
स्वतन्त्र र सामाजिक सञ्जालमा चलिरहेको ‘नो नट अगेन’ अभियानलाई पानीको फोकाको संज्ञा दिँदै यसले मुलुकलाई अराजकतातिर लैजाने जोखिम रहेको प्रचण्डको भनाइ छ ।
‘स्वतन्त्र भएर हुनेचाहिँ केही होइन । देशलाई, जनतालाई, समग्र इतिहास निर्माणलाई स्वतन्त्रले भूमिका खेल्छन् भन्नेजति अवैज्ञानिक र अवस्तुवादी कुरा त केही पनि हुँदैन,’ दाहालले भने, ‘तर पनि स्थानीय तहको चुनावमा र अहिले पनि स्वतन्त्र भनेर पार्टीहरुलाई बदनाम गर्ने, पार्टी नेतृत्वलाई बदनाम गर्ने, जसले इतिहास निर्माणमा, ठूल्ठूला युगान्तकारी परिवतर्नमा असाधारण भूमिका खेले उनीहरुलाई गाली गरेर हिँड्ने प्रवृत्ति कदापि राम्रो होइन । मैले हेर्दाखेरी यो झन्डैझन्डै पानीको फोकाजस्तो हो । यस्सो देखा पर्छ जान्छ ।’
‘दलहरुको अगाडि स्वतन्त्रहरुले प्रतिस्पर्धा गर्ने भन्ने कुरा दिगो हुने कुरा पनि होइन । यो टिक्ने कुरा पनि होइन । तर पनि मैले स्वतन्त्र भएर चुनाव लडेका र जितेकाहरुलाई, काठमाडौं वा धरानकालाई मैले यो लोकतन्त्रकै नयाँ फूल भनेर हेर्नुपर्छ पनि भनेको छु । मैले नकरात्मक टिप्पणी गरेको पनि छैन । तर त्यसो भन्दै गर्दा मेरो कुरा के छ भने दलहरुलाई यो अवसर पनि हो । स्वतन्त्रले अलिकति आफूलाई सच्चिन दलहरुलाई प्रेरित गरेको पनि हो । त्यस अर्थमा मैले अवसर ठान्छु,’ दाहालले भने, ‘स्वतन्त्रले देशलाई अराजकतातिर कता हो कता अँध्यारोतिर लाने खतरा पनि छ । त्यसकारण चुनौती पनि हो । चुनौती र अवसर दुवैको रुपमा मैले हेर्छु ।’
उनले यो चुनावमा चलिरहेको ‘नो नट अगेन’ जस्ता अभियान नेताहरुलाई होच्याउने ढङ्गले मात्र आएको यसका पछाडि कुनै भिजन नरहेको दाबी गरे ।
‘उहाँहरुले आफ्नो कर्मद्वारा, योगदानद्वार, देश, जनता र इतिहासप्रति आफ्नो लगानीद्वारा विस्थापित गर्न सक्नुपर्छ । छोडदेउ तिमीहरुले हामीलाई बाटो भनेर भन्नु राजनीतिक कुरा होइन् । आफू सक्रिय भएपछि स्वत: जनताले मान्छन् । छोड, ‘नो, नट एगेन’ भन्ने हो ? त्यसो भनेर जसले देशमा यस्तो परिवर्तन र समृद्धिको निम्ति भूमिका खेले, उनीहरुलाई ह्युमिलियट गर्ने ढंगले आउनु कदापि पनि न्यायोचित छैन । त्यसकारण यो सफल पनि हुँदैन,’ दाहालले भने ।