सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको दुगुनागढी र लिस्तिकोटको ऐतिहासिक एवं धार्मिक महत्वलाई थप उजागर गर्ने उद्देश्यले आगामी कात्तिक १७ गते ‘लिस्तिकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’ प्रतियोगिता हुने भएको छ ।
भोटेकोसी गाउँपालिका–३ स्थित सुक्खा बन्दरगाहबाट नयाँ पुल हुँदै दुगुनागढीसम्म २४.५ किमी दूरी क्षेत्रमा उक्त प्रतियोगिता हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेनाले सञ्चालन गर्दै आएको यो प्रतियोगिता तेस्रो संस्करण हो ।
सिन्धुपाल्चोककै गौरवका रूपमा रहेको दुगुनागढीको ऐतिहासिक महत्व, लिस्तिकोटको धार्मिक तथा ऐतिहासिक महत्व उजागर गरी ती स्थानलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता हुँदै आएको छ ।
सेनाको पहलमा भोटेकोसी गाउँपालिकाको आयोजनामा उक्त दौड प्रतियोगिता सञ्चालन गरिने छ । प्रतियोगिता खुला, महिला र जिल्लावासीका लागि गरी तीन विधामा सञ्चालन हुनेछ । खुल्लातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ः रु एक लाख १० हजार, रु ७५ हजार र ५५ हजार नगद पुरस्कार प्रदान गरिने सेनाले जानकारी दिएको छ ।
महिलातर्फ प्रथम हुनेलाई रु ६० हजार, दोस्रोलाई रु ३५ हजार र तेस्रो हुनेलाई रु २० हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ । जिल्लावासीका तर्फबाट प्रथम हुनेले रु ३० हजार, दोस्रो हुनेलाई रु २० हजार र तेस्रोलाई रु १५ हजार नगद प्रदान गरिने छ ।