झन्डै छ वर्षमा पनि सकिएन चार किमी सडक निर्माण



चितवन । झन्डै छ वर्ष हुँदा पनि भरतपुरको ४.४ किलोमिटर लामो बाइपास सडक निर्माण सम्पन्न हुन सकेको छैन। सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण भरतपुर महानगरपालिकाको मुख्य क्षेत्र पर्ने केन्द्रीय बसपार्कदेखि आँपटारीसम्मको सडक निर्माणको काम सुस्त भएको हो। सडक, विद्युत् र खानेपानीबीच समन्वय नहुँदा सडक विस्तारको काममा झन् ढिलासुस्ती भएको छ।

सुरुआतका चरणमा रूख कटान, विद्युत्को पोल र खानेपानीको पाइप नसार्दा सडकखण्ड विस्तारमा समस्या भएको थियो। त्यसमाथि मूल्य वृद्धिलगायत विभिन्न बहाना बनाएर ठेकेदारले सडक निर्माणमा झनै ढिलासुस्ती गर्दै आएका छन्।


सो सडकखण्डमा बनाइसकेको कालेपत्र भत्किन सुरु भइसकेको छ। ठाउँ–ठाउँमा बनेका खाल्डाले दुर्घटनाको जोखिम बढेको छ। भरतपुर महानगरपालिका–११ का स्थानीय महेन्द्र पाण्डेले सडक निर्माणमा चरम लापरबाही गरेको आरोप लगाए। उनले भने, “यतिका वर्ष हुँदा पनि न काम गुणस्तरको छ, न समयमै सम्पन्न भएको छ।”
उनले सम्बन्धित निकायलाई पटकपटक अनुरोध गर्दा पनि समयमै सडक निर्माण गर्नेतर्फ ध्यान नदिएको बताए। बाइपास सडक विस्तारको काम दुई प्याकेजमा गरिएको छ। केन्द्रीय बसपार्क चोकदेखि विशाल चोकसम्मको जिम्मा गौरी पार्वती निर्माण सेवा र विशाल चोकदेखि आँपटारीसम्मको जिम्मा रायमाझी पशुपति जेभीले पाएका हुन्।

बसपार्क चोक–विशाल चोक खण्डको काम डेढ वर्षदेखि ठप्प जस्तै छ। बिजुलीका पोल नहटेको र मेडियन निर्माणमा स्थानीयको अवरोध भएको भन्दै ठेकेदार कम्पनीले काम रोकेको छ। यस खण्डको पश्चिमपट्टि नाला बनाउने काम अधुरो छ। बाँकी काम चाडपर्व र निर्वाचन सकिएपछि मात्रै सुरु हुने सडक डिभिजन कार्यालयले जनाएको छ।

सडकमै पर्ने कार्यालयकै अगाडि रहेको मन्दिरसमेत स्थानीयले भत्काउन नदिएको सडक डिभिजनका इन्जिनियर सागर कार्की बताए। सडक, खानेपानी, विद्युत् प्राधिकरणलगायत सरोकारवाला निकाय पहिला छलफल गरेर काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ। पन्ध्र महिनामा सक्नुपर्ने यस खण्डको काम झन्डै छ वर्षमा ९० प्रतिशत पुगेर अड्किएको उनले सुनाए। विद्युत् प्राधिकरणले नालीमा पर्ने बिजुलीका पोल नहटाउँदा सडक विस्तारको काम ठप्प भएको हो।

विद्युत्ले पोल नहटाउँदा सडक डिभिजनको कार्यालय अगाडि नै दुर्घटना भइरहेका छन्। त्यहाँ विद्युत्ले नयाँ पोल गाडिसकेको छ तर पुराना पोल हटाएको छैन। बाटोमुनि खानेपानीको पाइप भएकाले ठाउँ–ठाउँमा पिच भत्किएको उनले बताए। स्थानीयले आ–आफ्नो घरअगाडि जेब्राक्रस र गाडी घुमाउने ठाउँ राख्न दबाब दिँदा मेडियनलाई पूर्णता दिन नसकिएको उनले बताए।

नयाँ सडक भए पनि ठाँउठाँउमा टालटुल गरिएका कारण पुरानो सडकजस्तै देखिने गरेको छ। ४.४ किमी बाइपास सडक विस्तार गर्न गौरी पार्वतीसँग ०७३ पुसमा सम्झौता भएको थियो। रु १२ करोड ८१ लाख ८२ हजारमा सम्झौता भएको ठेक्काको काम पछि पुनरावलोकन भएर बसपार्कदेखि विशालचोकसम्म मात्रै चार लेनमा विस्तार गर्ने सहमति भएको थियो।

दुई वर्षमा सक्नुपर्ने विशालचोक–आँपटारी खण्डको काम म्याद सकिसक्दा पनि जम्मा ३० देखि ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। यस खण्डको म्याद २०७८ साल फागुनमा नै सकिएको हो। कार्यालयले गएको साउनमा २०८० साल असारसम्मका लागि म्याद थप गरेको छ। रु २६ करोड लागतमा २.२ किमी सडक विस्तार गर्न लागिएको हो। यस खण्डमा अहिले बेसको काम भइरहेको छ।

२०७७ साल असोजमा सम्झौता भएको सडक खण्डको काम दुई वर्षमा सक्नुपर्नेमा अझै सकिएको छैन। यो खण्डको काम पनि चाडपर्व र निर्वाचन सकिएपछि मात्रै सुरु हुने सडक डिभिजन कार्यालयले जनाएको छ। निर्माण कम्पनीले भने सरकारी निकायको समन्वय नहुँदा रूख कटानमा ढिलाइ, विद्युत्को पोल र खानेपानीको पाइप सार्न ढिलाइ गरेका कारण सडक निर्माणमा ढिलाइ भएको बताउँदै आएका छन्।

राजमार्ग क्षेत्रको भीड र दुर्घटनाको जोखिम कम गर्न भन्दै विस्तार सुरु गरिएको यो सडकखण्ड समयमै निर्माण सम्पन्न गर्नका लागि पटक–पटक सरोकारवालाबीच छलफल र ठेकेदार कम्पनीलाई निर्देशनसमेत दिइएको थियो। तर निर्माणमा भएको सुस्तताले यहाँ यात्रा गर्नेलाई हैरानी बनाएको छ।