जर्मन राष्ट्रपति फ्राङ्क भाल्टर स्टाइनमायर युक्रेन भ्रमणमा



पश्चिमा राष्ट्रले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका बेला जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा पुगेका छन् ।

युक्रेनमा जारी युद्ध समाप्त भएपछि गरिने पुनर्निर्माणको बृहत् योजनाका बारेमा पश्चिमा मुलुकबीच विचारविमर्श भइरहेका बेला जर्मन राष्ट्रपति फ्राङ्क भाल्टर स्टाइनमेयरले युक्रेनको भ्रमण गरेका हुन् ।


रूसले युक्रेनमाथि आक्रमण गरेपछि राष्ट्रपति फ्राङ्क भाल्टर स्टाइनमायरको यो पहिलो युक्रेन भ्रमण हो । युक्रेनीहरूमा एकताको सन्देश प्रवाह गर्न आफू युक्रेनी राजधानी किएभ आएको उनले बताएका छन् । क्षेप्यास्त्र र रकेट आक्रमण जारी रहेका बेला भएको आफ्नो भ्रमण महत्वपूर्ण भएको उनको टिप्पणी छ ।

रुसी सेनाले गरेको आठ महिनाको निरन्तरको आक्रमणले आवासीय भवन, सार्वजनिक भवन र ऊर्जा प्रवाहका सञ्जाल ध्वस्त भएका छन् । विश्व बैंकले युक्रेनमा हालसम्म तीन खर्ब ४५ अर्ब डलर क्षति भएको अनुमान गरेको छ ।

गत जेठमा पोल्याण्ड तथा बाल्टिक क्षेत्रका आफ्ना समकक्षीसँग उनले पनि युक्रेनको भ्रमण गर्ने योजना बनाएका थिए । त्यसबेला उनीमाथि रूसको समर्थन गरेको आरोप लागेको थियो ।