रुपन्देही । खुल्ला सीमानाको फाइदा उठाउँदै चोरी तस्करी बढ्दा समेत स्थानीय प्रशासनले नियन्त्रणमा पहल नगरेको भन्दै सीमा क्षेत्रका व्यवसायीले गुनासो प्रशासनको आलोचना गरेका छन् । उद्योग व्यापार सङ्गठन, रूपन्देहीको १५औँ वार्षिक साधारणसभामा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष ओमकार गौचनले खुलेआम चोरी तस्करी भइरहदा पनि प्रहरी प्रशासनले नियन्त्रणमा पहल नै नगरेको बताए ।
गौचनले सीमापारी सुनौलीमा चाडपर्वका बेला करोडौँको व्यापार हुँदा सीमावारी नेपाली बजार भैरहवा क्षेत्रका व्यवसायीले मारमा परेको बताए । उनँले अब यस्तै अवस्था रहने हो भने केही दिनमै सयौं व्यावसायिकको व्यवसाय बन्द हुने पनि बताए ।
८० वर्षीय गौचनले वर दशकको व्यावसायिक जीवनमा सबैभन्दा बढी चोरी तस्करी यतिबेला भइरहेको भन्दै स्थानीय प्रहरी प्रशासनको चर्को आलोचना समेत गरे । उनले भने, ‘सीमापारीबाट जे सामान ल्याए पनि कुनै रोकतोक गरिँदैन । सीमावारी भैरहवाको व्यापार चौपट भएको छ । अरु केही नगरे पनि भन्सारको संक्षिप्त प्रज्ञापनपत्र भरेर मात्रै ल्याउने व्यवस्था गरौँ ।’
कार्यक्रममा उद्योग व्यापार सङ्गठन रुपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले सीमावर्ती क्षेत्रमा प्रहरी प्रशासनले कडाइ नगर्ने हो भने भैरहवाका धेरै पसल बन्द गर्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘मान्छे सीमापारी जान रोक्न सकिँदैन तर, सीमापारीबाट भन्सार नगरेको सामान रोक्न, नियन्त्रण नगरेर प्रशासन रमिते बनेर बसेको छ ।’
भण्डारीले कानुनअनुसार संक्षिप्त प्रज्ञापनपत्र नभरी सामान नेपाल ल्याउन नपाइने प्रणालीलाई लागू गर्न समेत माग गरे । जिल्लाको मर्चवार, केवटलिया, पीपरिहिया, भगवानपुर, चनौली बगाह, कालिदह, बगौँली, चन्नी, करौँता, थुमुहवा पीपरहवा, मुडुलालगायतका नाकाबाट दैनिक चोरी तस्करी गरेर दाल, तेल र चामललगायतका सामान भित्रिरहेका छन् । भैरहवा मूल भन्सार नाका अगाडिबाट घरायासी समान भन्दै दिनहुँ हजाराँै मानिसले भन्सार नतिरी सामान ल्याउने गरेको ब्यवसायिहरुको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले मुलुकलाई आत्मनिर्भर बनाउन सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।’
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सीमापारी किनमेलको जाने मानिस रोक्न नसकिँने बताउँदै व्यवसायीको सुझाव र गुनासोलाई आत्मसात गर्दै सुरक्षा सतर्कतामा विशेष ध्यान दिने बताए ।
उनले भने, ‘हामीले राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षागस्ती बढाउने, घरायासी प्रयोजनका लागि भारतीय बजारमा जाने संस्कारलाई निरुत्साहित गर्ने काम अगाडि बढाउने, सीमापारीबाट भन्सार नगरी ल्याएको समान खरिद गर्ने प्रचलनलाई रोक्नु पर्दछ ।’
उद्योग व्यापार सङ्गठन, रूपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले सीमा क्षेत्रका व्यापारी सीमा क्षेत्रको चोरी तस्करीका कारण मारमा परेको बताएड । रूपन्देही जिल्लाको उद्योगी व्यवसायीको क्रियाशील सक्रिय रहेको उद्योग व्यापार सङ्गठनमा जिल्लाका करिब पाँच हजार व्यवसायी दर्ता रहेका छन् । कार्यक्रममा सङ्गठनको स्तरवृद्धिमा अतुलनीय योगदान पुर्याएका छ जनालाई सम्मान गरिएको थियो ।