वर्तमान महासचिव तथा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालका लागि अनुमोदन गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २० औं महाधिवेशन सकिएको छ ।
एक साताअघि १६ अक्टोबरबाट राजधानी बेइजिङमा सुरु भएको उक्त अधिवेशनबाट सीले तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा निरन्तरता पाएका हुन् ।
यस्तै महाधिवेशनबाट सीपीसीका २०५ सदस्यीय केन्द्रीय सदस्य चयन भएका छन्। यद्यपि, १९ औं महाधिवेशनबाट शक्तिशाली पोलिटब्युरो कमिटीमा रहेका तत्कालीन प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई भने नयाँ कमिटीमा समावेश गरिएको छैन ।
सीपीसीको नयाँ केन्द्रीय कमिटीमा ११ जना मात्रै महिला रहेको बताइएको छ । वाङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुन् भने हान उपप्रधानमन्त्री हुन् । ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष हुन् ।
स्टेट काउन्सिल तथा विदेशमन्त्री वाङ यी भने केन्द्रीय कमिटीमा परेका छन् । केन्द्रीय कमिटीले पोलिटब्युरो र स्ट्यान्डिङ कमिटीको गठन गर्ने छ ।
केन्द्रीय कमिटीको पहिलो बैठक आइतबार बस्ने छ । एक साता चलेको महाधिवेशनले पाँच वर्षअघि अपनाएको सी विचारधारा झनै सशक्त बनाउने प्रस्ताव पारित गरेको छ । पाँच वर्षअघि भएको पार्टीको १९ औं महाधिवेशनले सी विचारधारालाई अपनाउने निर्णय गरेको थियो ।