खानेपानी आयोजनाको पाइप बिच्छ्याउन सुरु



तनहुँ । व्यास नगरपालिका–१ भादगाउँस्थित मादीनदी लिफ्ट खानेपानी आयोजनाको खानेपानी पाइप बिच्छ्याउने कार्य सुरु गरेको छ । वडामा कूल ५२ किलोमिटर दूरीमध्ये हाल सात किलोमिटर दूरीमा पाइप बिच्छ्याउने कार्य सम्पन्न भएको छ । करिब तीन फिट गहिरो खाडल खनेर पाइप पुर्ने कार्यका लागि जनशक्ति परिचालन गरिएको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए । 

व्यास नगरपालिका–४ को मादी नदी किनारबाट करिब पाँच किलोमिटर दूरीबाट पानी ल्याएर वडावासीलाई पानी वितरण गर्ने योजना रहेको छ । व्यास नगरपालिका–१ को अमिली भञ्याङमा चार लाख लिटर मुख्य ट्याङ्की र सोही वडाको भदुरडाँडामा पचास हजार लिटर क्षमताको गरी दुई वटा रिर्जभ ट्याङ्की निर्माणकार्य भइरहेको छ । 


समितिले ट्याङ्की निर्माणको लागि करिब पाँच रोपनी जग्गा प्रयोगमा ल्याएर काम थालेको छ । रिजर्भ ट्याङ्कीको भूइँ ढलान गर्ने कार्य दसैंँअघि सम्पन्न गरी  अहिले आरसीसी पर्खाल लगाउन थालिएको छ । मादी नदीबाट प्रतिसेकेण्ड २६ लिटर पानीको क्षमता रहने प्राविधिकले बताएका छन् ।

पानी धान्न सक्ने किसिमको फिल्टर प्लान्ट निर्माण गरिनेछ । व्यवस्थापक श्रेष्ठले भने, ‘मुख्य प्लान्टको कार्य सकिएपछि तिहारपछि मादीनदी किनारमा लिफ्ट क्षेत्रको काम गरिने छ ।’ खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भई बोलपत्रदाताले पेस गरेको ठेक्का कबोल खानेपानी आपूर्तितर्फ १५ करोड २४ लाख ३६ हजारमा सम्झौता भएको हो । उपभोक्ताबाट संकलित पाँच प्रतिशत अर्थात् एक करोड ३१ लाख खातामा जम्मा गरिसकेपछि मात्रै आयोजनाको सम्झौता भएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए । 

नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । विसं २०८० भदौभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुआत गरेको संस्थाले हालसम्म दुई हजार ६०० बढी निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ ।