कांग्रेसको घोषणापत्रमै संसद् विघटन नगर्ने प्रतिबद्धता समावेश छ :  महामन्त्री शर्मा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीले संसदलाई पाँच वर्ष स्थिर राख्ने विषय घोषणापत्रमै समावेश गरेको बताएका छन् ।

शनिबार चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले घोषणापत्रमै संसद् विघटन नगर्ने प्रतिवद्धता समावेश गरेको बताएका हुन् ।


घोषणापत्रले सम्पूर्ण क्षेत्रका मानिसको माग सम्बोधन गरेको उनले बताए । घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले भने-‘हामीले आम मानिसलाई केन्द्रमा राखेर घोषणापत्र बनाएका छौं । खेलाडी, अपांगता भएका, साहित्य, सिनेमा, कला क्षेत्रका सबैको प्रतिनिधित्व घोषणापत्रले गरेको छ। ‘

संविधानको स्वामित्व कांग्रेसले लिने बताउँदै शर्माले भने  -‘ठुलठुला उपलब्धि कांग्रेसले ल्याएको हो, यसमा आवश्यकता अनुसार सानो सानो सुधार गर्छौ ।’ 

मन्त्री भएपछि सम्पत्ति सार्वजनिक गरिने विषय घोषणापत्रमा उल्लेख भएको उनले बताए । फोहोरलाई दीर्घकालीन समाधान, मलको अभाव, भूमि समस्या हल गर्ने विषय घोषणापत्रमा समावेश गरिएको शर्माले बताए ।