ऋषि सुनक बने बेलायतको नयाँ प्रधानमन्त्री



लिज ट्रससँग पराजित भएको करिव ५० दिनपछि ऋषि सुनक बेलायतको प्रधानमन्त्रीमा विजयी भएका छन् । उनी पहिलो ब्रिटिश एशियाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ र बेलायतले ठूला आर्थिक चुनौतीहरूको सामना गरिरहेको समयमा कार्यभार सम्हाल्ने भएका छन् ।

पेनी मोर्डाउन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन् । नयाँ बन्ने ब्रिटिश प्रधानमन्त्रीले बेलायतमा दशकौँमा देखापरेका सबैभन्दा गम्भीर आर्थिक समस्याहरू र उनीहरूकै वैद्यताका प्रश्नहरू सामना गर्नेछन् ।


ब्रिटेन अहिले दशकौँमा सिर्जना भएको सबैभन्दा उच्च महँगी र बढ्न नसकिरहेको आर्थिक वृद्धिसँग जुझिरहेको छ । उसको अर्थतन्त्र युक्रेन युद्ध, ब्रेक्जिट र कोभिड महामारीका कारण कमजोर बनेको छ, तर ती समस्यालाई सरकारको अस्थिरताले थप कमजोर बनाएको छ । विपक्षी दलहरूले नयाँ नेतासँग कार्यादेश नहुने भन्दै आमनिर्वाचनको माग गरेका छन् ।

फेब्रुअरी २०२० मा सुनक बेलायतको चान्सलर अफ एक्सचेकर (अर्थमन्त्री) बने। त्यसको केही सातामै उनले सामना गर्नुपरेका महामारी र लकडाउनका चुनौतीहरू दोस्रो विश्वयुद्धपछि कुनै चान्सलरले झेलेकोमध्ये सबभन्दा ठूला थिए ।

२१औँ शताब्दीसँगै युवावस्थामा प्रवेश गरेका, कहिल्यै मदिरापान नगर्ने उनी धेरैका लागि अर्थतन्त्रको गाडी हाँक्न विश्वसनीय व्यक्ति बन्न पुगे । सन् २०२० को बसन्तयाममा उनले महामारीमा मानिसहरूलाई सघाउन ‘जेसुकै गर्ने’ वाचा गर्दै ३५० अर्ब स्टर्लिङ पाउन्ड बराबरको सहायता कार्यक्रम सार्वजनिक गरे ।

त्यसले उनको व्यक्तिगत लोकप्रियतालाई झन् उचाइमा पुर्यायो। तर बेलायतमा आर्थिक रूपमा अस्तव्यस्त माहोल जारी रहिरहँदा सुनक स्वयम्ले प्रहरीलाई जरिबाना तिर्नुपर्ने अवस्था पनि आयो । जून २०२० मा डाउनिङ्ग स्ट्रीटमा लकडाउनका नियम तोडेको भन्दै बोरिस जोनसनसँगै उनी कारबाहीमा परेका थिए ।