अफगानिस्तानमा छात्रालाई विद्यालय तहमा अध्ययन अध्यापन गर्न पाउने वातावरण बनाउन युरोपेली सङ्घले माग गरेको छ । सङ्घका तर्फबाट अफगानिस्तानका लागि खटिनु भएका विषेश प्रतिनिधि टोमस निक्लासोनले कक्षा ६ देखि माथिका छात्रालाई अझै पनि विद्यालय जान नदिइएको उल्लेख गर्दै तत्काल विद्यालय सूचारु गर्न माग गरेका हुन् । उनले अफगानिस्तानको प्रगति र विकासका लागि महिलाको शैक्षिकस्तरमा बृद्धि हुनुपर्नेमा पनि ध्यानाकर्षण गराएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा पनि उनले विद्यालयहरु तत्काल खुल्नु पर्ने र बालिकाहरूलाई विद्यालयमा पहुँच हुनुपर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, “देशभरका सबै विद्यालयहरु तत्काल खुल्न आवश्यक छ, विद्यालय जान चाहेका सबै बालबालिकाहरुलाई विद्यालय गएर पढ्न पाउने व्यवस्था हुनुपर्दछ ।”
बालिकाहरूमाथि विभेद हुँदै आएकाले बालिकाहरूलाई उनीहरूको उमेर अनुसारको शिक्षा उपलब्ध गराउन पनि उनले आग्रह गरेका हुन् । अहिलेका बालिकाहरू भोलिका शिक्षिका, इन्जिनियर, चिकित्सक, सार्वजनिक सेवा प्रदायक, व्यवसायी, नेता आदि भएकाले उनीहरूलाई अहिले नै राम्रोसँग विकास गराउनु पर्नेमा उनले जोड दिएका छन् ।
“उनीहरूलाई आज राम्रो शिक्षा दिइएन भने भोलिको देश पनि राम्रो बन्न सक्दैन, त्यसैले उनीहरुलाई शिक्षा दिनु भोलिको देश राम्रो बनाउनु हो,” उनले लेखेका छन् । विषेश प्रतिनिधि निक्लासोनले अफगानिस्तानका सबै बालिकाहरु उनीहरुका दाजुभाईसँगै विद्यालय गएको देख्न चाहेको बताएका छन् । उनले अफगानिस्तानमा महिला अधिकार हनन भइरहेकाले विश्वको ध्यान जानुपर्नेमा समेत जोड दिएका छन् ।
अफगानिस्तानमा तालिवान सरकार गठन भएदेखि बालिकाहरुलाई विद्यालय जान, महिलालाई रोजगारी गर्न र घर बाहिर एक्लै हिड्न प्रतिबन्ध लगाइएको छ । सरकारको यस निर्णयको विश्वभरीबाट विरोध भएपनि तालिवान सरकारले वेवास्ता गर्दै आएको छ ।