काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।
दसैँको टीकाको भोलिपल्ट गत बिहीबार (२० असोज)मा पक्राउ परेका सन्दीपलाई थप सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको हो । सन्दीपलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।
लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ । उनीविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । उनीविरुद्धको कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।