सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले बिहीबार घटनाको अनुसन्धानका लागि सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको उनका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् । उनले भने, ‘प्रहरीले ७ दिन म्याद मागे पनि श्रीमान्‌ले ४ दिन थप्नु भएको छ । आइतबार प्रहरीलाई प्रतिवेदनसहित उपस्थित हुन भनिएको छ ।”


असोज २४ मा जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणि शर्माले पहिलोपटक उनलाई ७ दिन हिरासतमा राख्न अनुमित दिएका थिए । दोस्रोपटक २७ असोजमा ५ दिन म्याद थप गरिएको थियो ।  नाबालिग बलात्कारको आरोपमा २२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल फर्केपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।