भारतको मध्य प्रदेशका ऊर्जामन्त्री प्रद्युम्न सिंह तोमरले आफ्नो निर्वाचन क्षेत्रको सडकको अवस्था नसुध्रिएसम्म खाली खुट्टा बस्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ऊर्जामन्त्री तोमरले आफ्नो निर्वाचन क्षेत्रको सडकको आकस्मिक निरीक्षण गर्दै उक्त बाचा गरेका हुन् । उनले आफ्नो क्षेत्रका खराब सडकहरूको अवस्था र त्यसलाई सुधार्नुपर्नेमा राज्य सरकार प्रतिवद्ध रहेको पनि बताएका छन् ।
निरीक्षण भ्रमणका क्रममा सर्वसाधारणले त्यस क्षेत्रमा खराब सडकका कारण आफूले भोग्नुपरेको पीडा सुनाएपछि मन्त्री तोमरले उनीहरूको दुःखले आफूलाई पीडाबोध भएको बताएका थिए ।
उनले कमजोर सडक सञ्जालको निरीक्षण यस पहिले नै पनि गरिसकेको र सुधारका लागि सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका थिए । तर, सडक निर्माण धेरै टाढाको कुरा त्यहाँ खाल्डाखुल्डी समेत पुरिएका छैनन् ।
यो भ्रमणका क्रममा तोमरले जनतासँग हात जोडेर माफी माग्दै सुधारको सङ्कल्पसमेत गरेका छन् ।
उनले भने,“जबसम्म ग्वालियर विधानसभा निर्वाचन क्षेत्रको सडकको अवस्था सुधार हुँदैन, तबसम्म म चप्पल र जुत्ता लगाउने छैन । म खाली खुट्टा बस्नेछु ।”
उनले थपे, “खाली खुट्टा हिँड्दा गिट्टी र खराब सडकको पीडा महसुस हुन्छ भन्ने मेरो विश्वास छ । जनताको पीडाको मैले आफैले पनि अनुभव गर्नेछु ।”
सडक निगमका अधिकारीहरूलाई निर्देशन दिँदै उनीहरूलाई चाँडै सडकहरू ठीक गर्न भनिएको छ । लापरवाही गर्ने अधिकारी र कर्मचारीलाई कारवाही गरिने पनि उनले बताए ।