सडकका खाल्डाखुल्डीबाट जोगिनै समस्या



दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा खाल्डाखुल्डी छन् । खाल्डोमा पानी जमेको छ । सडकमा बुङ्बुङ्ती धुलो उड्छ । धुलोको सास्ती त छँदैछ, यात्रा गर्दा खाल्डोबाट जोगिनपर्ने अवस्था पनि छ ।

मुग्लिन पोखरा सडक विस्तारका कारण यहाँका अधिकांश ठाउँका सडक भत्किएका छन् । ठूला सवारीसाधनलाई भन्दा पनि दुई पाङ्ग्रे सवारी साधनका यात्रुई खाल्डोबाट बच्नुपर्ने अवस्था छ । सडक खाल्डाखुल्डी पर्दा कष्टपूर्ण यात्रा त छँदैछ दुर्घटनाको जोखिम पनि बढेको छ ।


सडक खाल्डाखुल्डी हुँदा दशैँमा यात्रा गर्ने यात्रुले सास्ती पाएका छन् । मुग्लिन पोखरा सडक विस्तारका क्रममा तनहुँका धेरै ठाउँमा सडक खाल्डाखुल्डी हुँदा दशैँका बेला यात्रा गर्नेले सास्ती पाएको स्थानीयवासी बताउँछन् ।

सडकको दूरावस्थाले गर्दा यात्रा गर्दा सास्ती खेप्नुपरेको व्यास नगरपालिका–११ का भानुभक्त सोतीले बताए । सदरमुकाम दमौली नजिकैका अधिकांश ठाउँमा सडक खाल्डाखुल्डी पर्दा यात्रा गर्दा जोखिमका साथै दुर्घटनाको सम्भावना रहेको उनी बताउछन् । सोती आक्रोश पोख्दै भने, ‘दशैँको बेलामा बाइक र स्कुटरमा हिँड्नेको पीडा सुविधायुक्त गाडीमा हिँड्नेलाई के थाहा ।’

उनले दशैँका लागि लक्षित गरी सडक मर्मतका लागि नगरपालिकालाई आग्रह गरेका छन् । उनले भने, ‘नगरपालिका र वडासँग स्रोत साधन र बजेट छैन भने जनप्रतिनिधि ज्यूँ, बेल्चा लिएर आउनुस् श्रमदानका लागि हामी तयार छौँ ।’ पृथ्वी राजमार्ग सङ्घीय सरकार मातहत रहेकाले यसमा केही गर्न नसकिने नगरपालिका बताउँछन् ।

पृथ्वी राजमार्गअन्तर्गत ७२ किलोमिटर खण्ड रहेको तनहुँमा मुग्लिन पोखरा सडक विस्तारका लागि काम भइरहेको छ । त्यसले गर्दा सडक सडकमा धुलो बुङबुङ्ती उड्छ । धुलो र खाल्डाखुल्डी सडकले राजमार्गमा यात्रा गर्न जोखिम रहेको म्याग्दे गाउँपालिका–७ का मोहन बरालीले बताए । ‘दसैँका बेला त झन आफन्तको जानुपर्छ, सडकको हालत यस्तो छ की यात्रा गर्नै मन लाग्दैन ‘तर के गर्नु दुःखकष्ट गरेरै भए पनि आफन्तकहाँ पुग्नैप¥यो’, उनले भने ।