सङ्कटमा परम्परागत पानी घट्ट, जाँतो र ओखल



भजनी । दुर्गम गाउँमा खानेकुराको लागि निकै अभाव, न्यून उब्जनी र खेतीपाती पनि शून्य हुँदा  दैनिक मजदुरी र पानीघट्ट सञ्चालन नै परिवारको आयआर्जनको माध्यम बनेको छ । अछामको रामारोशन गाउँपालिका–१ का बालाराम परियारको दैनिक जीवन यसरी नै बित्दै आएको छ । कैलाश खोलाको किनारमा भएको एक पानीघट्टले अझै पनि बालारामको १० जनाको परिवार पालिन्छ । 

‘खेतीबारी केही नहुँदा दिनभर मजदूरी वा  त्यही पानीघट्ट चलाएर  नै परिवार पाल्ने आधार बन्दै आएको छ, ‘ उनले भने, ‘त्यही घट्टले मेरो बुबाले गुजारा चलाए, मेरो पनि आधा उमेर त्यही घट्टका ढुङ्गा पल्टाएर बित्यो ।’अहिले  बालाराम ७० वर्ष पुगे पनि उनको जोश र जागर अहिले पनि तन्नेरीकै जस्तो छ । अझै पनि कैलाश खोलाका ढुङ्गा पल्टाउने गरेका उनी घट्टमा गेडागुडी पिसाउन आएकासँग केही पिठो लिन्छन्। त्यसको कुनै नापजाँच भने हुँदैन । जसले जति दियो त्यतिमै चित्त बुझाउनुपरेको बालारामले बताए।


 ‘यति चाहिन्छ भनेर माग्ने चलन छैन । जति दियो त्यतिमै चित्त बुझाउनुपर्छ ।’ उनले भने, ‘दिनमा दुईदेखि  पाँच केजीसम्म पिठो भइहाल्छ ।’ गाउँमा त्यो बेला एक दर्जनभन्दा बढी पानी घट्ट रहेकामा अहिले बालारामको मात्रै छ । विसं २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले दर्जनौंँ पानीघट्ट बगाएपछि घट्ट सञ्चालकले त्यसपछि त्यो पेसालाई निरन्तरता दिन छोडेका हुन् ।  ‘गाउँगाउँमा बिजुली बत्ती पुगेपछि मिल पनि सञ्चालनमा आएका छन् । पहिलेको जस्तो पानी घट्टको महत्व पनि छैन ।’

स्थानीय दाताराम खनाल बताउँछन्, ‘पैसा नहुने, घट्टमै पिसेको पिठो राम्रो मान्ने मात्रै घट्टमा आउँछन्, नभए पानी घट्ट विस्थापित हुने अवस्थामा पुगिसकेको छ ।’ उनी परम्परागतरुपमा पुर्खाले बनाएका पानी घट्टको अस्तित्व लोप हुने अवस्थामा पुगेको गुनासो  गर्छन। त्यतिबेला खानको लागि निकै अभाव हुँदा, खेतीपाती नभएका अधिकांशको सहारा पानीघट्ट हुन्थ्यो । नदीको किनारमा निर्माण हुने अधिकांश पानी घट्टमा मेहनत भने निकै  हुन्थ्यो ।

ग्रामीण बस्तीका लागि पानीघट्ट एक महत्वपूर्ण आवश्यकताको  वस्तु हो । गेडागुडी पिसेर पिठो बनाउन पानीघट्ट र जाँतोको प्रयोग हुँदै आएको छ । जाँतोको विकल्पमा प्रयोग हुने गरे पनि पानीघट्ट ग्रामीण क्षेत्रको लागि महत्वपूर्ण साधनको रुपमा लिने गरिएको रामारोशन गाउँपालिका–१ का वडाध्यक्ष चक्रबहादुर साउदले बताए।

‘पानीघट्ट, जाँतो र ओखलसँग हाम्रो नजिकैको सम्बन्ध   छ । यसको संरक्षण र सम्बद्र्धन निकै आवश्यक छ ।’ वडा अध्यक्ष साउदले भने, संकटमा रहेका यस्ता वस्तुलाई संरक्षण गरी राख्न सके भावी सन्ततिका लागि इतिहास बन्न सक्छ ।’ त्यस्तै ग्रामीण बस्तीको अर्को महत्वपूर्ण साधन भनेको ओखल पनि हो । पिसानीका लागि पानीघट्ट र जाँतो जस्तै कुटानीको माध्यम ओखल हो । अहिले पुरानो पानीघट्ट, जातो र ओखलको अस्तित्व हराउँदै गएको छ ।

कल्धरी बिक कुनैबेला बिहान ३/४ बजे उठ्नुहुन्थ्यो । बिहानको चुलोचौको भन्दा पहिले ओखलमा धान कुट्नु उनको नियमित काम हुन्थ्यो । ‘साना छोराछोरी, परदेशीएका श्रीमान्, कामको चाप ।’उनले भने, ‘छोराछोरी उठ्नुभन्दा पहिला सबै काम सक्नुपर्थ्यो । उनीहरूलाई खाजा खुवाएर  मेलापात जानु हाम्रो दैनिक काम थियो ।’

अहिले अवस्था फेरिएको छ । गाउँमा मिल सञ्चालनमा आएपछि ओखल कल्धरीले चलाउनै परेको छैन ।  मिलले गर्दा कल्धरी मात्रै होइन कैयौँ महिलालाई  त्यस्ता कामबाट फुर्सद मिलेको छ ।  दिनभर बाहिरी कामको चटारोमा रहने महिला बिहानको समय धान कुटेर चामल बनाउन ओखलमै व्यस्त हुनेगर्थे । ‘दिनभरको कामको थकानले  छिट्टै निदाएछु । निद्रामा पनि भोलिको कामको चिन्ता थियो । हातमा घडी थिएन । असोजको महिना खेती भित्राउने चटारोमा आधा रातमै धान लिएर ओखल पुगेकी रहेछु ।’ विगतका दिन स्मरण गर्दै नामसरा खनालले भने, ‘धान कुटेर फेरि दुई-अढाइ घण्टा सुतेपछि मात्र उज्यालो भयो । त्यो बेलाको दुःख र अहिलेको सुविधा सम्झँदा अहिले पनि मन थाम्न गाह्रो हुन्छ ।’

स्थानीयवासी चन्द्रा परियार यति छिटो समय परिवर्तन भएकामा अचम्म मान्छिन्। मट्टितेलबाट लाल्टिन र टुक्कीको सहारामा आधा जीवन बिताएकी उनलाई कहिलेकाहीँ एकाएक भएको परिवर्तन सपना जस्तै लाग्ने गरेको छ ।  उनी गाउँगाउँमा बिजुली आएपछि मिल सञ्चालन भएर कुटानीपिसानीमा सहज भए पनि पुरानो परम्परा हराउँछ कि भन्ने चिन्ता पनि बढेको बताउँछिन्।

 ‘घरघरमा बिजुली पुग्यो । गाउँमा यातायात पुग्यो । सबै कुराले सहज भएको छ ।’ चन्द्राले भनिन्, ‘यहीँ सुविधा र सहजताले हाम्रा पुर्खाको दैनिक उपयोगका सम्पत्तिको अस्तित्व हराउँदै जाने त होइन? ‘ गाउँमा सबै कुराको सहजता भएपछि पहिलेको जस्तो कामको  चटारो पनि हटेको छ । नागरिक फुर्सदिला भएका छन् । पिठ्यूँमा भारी बोकेर मेलापात जानुपर्ने बाध्यता टरेको छ । दिनभर घट्टमा पालो कुरेर बस्नुपर्ने बाध्यता अन्त्य भएको छ । त्यस्ता कयौँ समस्याबाट छुटकारा पाए पनि पुर्खादेखिको परम्परागत संरचनाको अस्तित्व नै समाप्त हुने चिन्ता पनि बढ्दै गएको छ ।