संसारभरि ह्वाट्सएपको सेवामा अवरोध



ह्वाट्सएपका सञ्चालकले अनलाइनमा सन्देश पठाउने उक्त एपले संसारभरि काम नगरिरहेको पुष्टि गरेका छन् । सञ्चालक कम्पनी मेटाले ह्वाट्सएको सेवा जतिसक्दो छिटो पूर्ववत् अवस्थामा फर्काउन काम भइरहेको जनाएको छ ।

ब्रिटिश समय अनुसार मङ्गलबार बिहान ८ बजेदेखि उक्त एपमा समस्या देखापरेको थियो । सन्देश पठाउन र प्राप्त गर्न नसकेपछि उक्त एपका दशौँ हजार सेवाग्राहीले उजुरी गरेका थिए ।


सेवाको अवस्थाबारे थाहा दिने वेबसाइट डाउन डिटेक्टरका अनुसार आधा घण्टाभित्रै १२ हजारभन्दा धेरै उजुरी दर्ता भएका थिए । मङ्गलबार बिहान सन्देश पठाउन खोज्दा धेरै प्रयोगकर्ताहरूले ‘कनेक्टिङ’  जनाउ पाएका थिए ।

सेवा ’डाउन’ हुने त्यस्तो अवस्था के कारण सिर्जना भएको भन्दै अझै थाहा हुन सकेको छैन । ह्वाट्सएपका विश्वभरि झण्डै दुई अर्ब सक्रिय प्रयोगकर्ता छन् ।

गत वर्ष ह्वाट्सएपमा ६ घण्टा अवरोध आउँदा त्यसको असर फेसबुस र अक्युलस र इन्स्टाग्राम समेतलाई परेको थियो ।