संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि सत्ता गठबन्धनको संयुक्त अपिल



काठमाडाैँ । सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै एक अपिल जारी गरेको छ । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि भन्दै गठबन्धनले आफ्नो पक्षमा मतदान गर्न मतदातालाई अपिल गरेको हो ।

सत्ता गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकर्त समाजवादीले संयुक्त अपिल जारी गरेका हुन्। 


पाँच दलीय गठबन्धन सरकार बनेपछि संविधानको मूल मर्म र भावना अनुरूप काम गर्दै आएको, गठबन्धन सरकार गठन भए लगत्तै महामारीका रूपमा रहेको कोभिडको रोकथाम नियन्त्रण भएको र वर्तमान गठबन्धनको सरकारले विदेश नीतिमा सन्तुलन कायम गरेको गठबन्धनले जनाएको छ।

‘राष्ट्रिय यथार्थहरूको प्रकाशमा लोकतन्त्र, संविधान र विधिको शासनमार्फत सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठबन्धनको आवश्यकतालाई मनन् गर्न र आगामी निर्वाचनमा यो गठबन्धनलाई अत्याधिक बहुमतका साथ विजयी गराउन हार्दिक अपिल गर्दछौं’, अपिलमा भनिएको छ।