शर्त पूरा गर्ने व्यवसायीको प्रतिवद्धतापछि खुल्यो प्याराग्लाइडिङ



काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि बन्द गरिएको प्याराग्लाइडिङ उडान एक सातापछि खुलेको छ । पोखरामा उडानका क्रममा नेपाली सेनाका खेलाडी निसिम थापाको मृत्यु भएपछि देशैभर बन्द गरिएको उडान एकसातापछि खुला गरिएको हो ।

थापाको असोज ३० गते मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैंभरको प्याराग्लाइडिङ उडान बन्द गरेको थियो । प्राधिकरणले नियमित, व्यवस्थित र सुरक्षित उडान गराउने भन्दै बन्द गराएको उडान आइतबारबाट खुलेको छ । दुर्घटनापछि कात्तिक २ गते प्राधिकरणले उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय अध्ययन समिति गठन गरेको थियो ।


अध्ययन समितिले २ दिनमै पाँच वटा सुझावसहित प्रारम्भिक प्रतिवेदन दिएको थियो । प्राधिकरणले उक्त प्रतिवेदनको सुझावलाई आधार बनाएको भन्दै शुक्रबार नै प्याराग्लाइडिङको उडान खुला गर्ने निर्णय गरेको थियो । उक्त निर्णय आइतबारदेखि कार्यान्वय भएर पोखरासहित देशैभरको प्याराग्लाइडिङ उडान खुला भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार अध्ययन समितिले दिएको प्रतिवेदनको सुझावलाई कार्यान्वयन गर्ने गरी व्यवसायीलाई उडान सुरक्षित र व्यवस्थित गराउने शर्तमा खुला गरिएको हो । प्याराग्लाइडिङको उडान खुला गर्दा प्राधिकरणले तोकेका शर्त अनिवार्य पालना गर्नुपर्ने छ । प्राधिकरणले तोकेको शर्तमा व्यवसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यवसावसायिक उडान बाहेक अन्य उडान गतिविधि नगर्ने, १५ दिनभित्र क्यान मेडिकल रिक्वायरमेन्ट पूरा गर्ने उल्लेख छ ।

मेडिकल रिक्वायरमेन्टका लागि डेजिग्नेटेड मेडिकल एक्जामिनरले परीक्षणमा योग्य ठहराएका पाइलटले मात्रै व्यवसयायिक उडान गर्न पाउने, यस्ता पाइलटले पोशाक लगाउनुपर्ने व्यवस्था भएको छ ।