वायुसेवा निगमद्वारा कोषलाई ७३ करोड भुक्तान 



काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ । निगमले जहाज खरिद बापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानी अन्तर्गत पछिल्लो पटक असोज ३१ गते  ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको निगमका सह-प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए । 

निगमका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याज वापतको ५३ करोड नौ लाख ५५ हजार २८१ भुक्तानी गरिएको छ । त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको २० करोड किस्ता वापतको रकम भुक्तानी गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


निगमले यसअघि गत असार ३० गते दुबै कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको रु एक अर्ब ३५ करोड भुक्तानी गरिएको जनाएको छ । पछिल्ला दिनमा नियमित उडान, अकुपेन्सी दरमा सुधार आई आम्दानीमा वृद्धि भएको निगमले नियमितरूपमा ऋण दायित्वको भुक्तानी गर्न सफल भएको सह-प्रवक्ता घिमिरेले बताए ।

उनले अन्तर्राष्ट्रिय उडानका चारवटै जहाज पूर्णक्षमतामा नियमित उडान भइरहेकाले निगमको आम्दानीमा सुधार आएको बताए । निगमले वाइड बडी ए-३३० र न्यारोबडी ए-३२० जहाज खरिदका दुबै चरणमा गरेर करिब रु ३७ अर्ब ऋण लिएको थियो । सावा र ब्याज बढेर भुक्तानी दायित्व झण्डै ४५ अर्ब पुगेको बताइन्छ ।